राष्ट्रकवि घिमिरेका छोरा छोरीका कविता कृति लोकार्पण

राष्ट्रलाई दिलमा राखेर हिँड्ने कविको कलम

शान्ति र विश्व वन्धुत्वमा लाउने छ मलम

राष्ट्रको गान गायौ नि कति राष्ट्रलाई

उठाई हरेक हरफ मन्त्र भै बोल्छन् पाठ नै पढाई ।

राष्ट्रकवि माधव प्रसाद घिमिरेका सन्तान, पिताजीकै पदचिह्न पछ्याइरहनुभएकी कान्छी छोरी ज्योति पौडेल  र कान्छा छोरा राजीव घिमिरेका कविता संग्रहहरु लोकार्पण गरिएका छन् ।

कवि तथा गीतकार ज्योति पौडेल र राजीव घिमिरेका कविता सङ्ग्रह क्रमशः ‘पेनड्राइभ’ र ‘मेराकी’ आत्माले भिजेका कविताहरू’ लोकार्पण गरिएको छ ।

‘पेनड्राइभ’ मा जन्मभूमि नेपाल र कर्मभूमि अमेरिकी परिवेशमा लेखिएका स्वदेशप्रेम, प्रकृति, प्रेम, सौन्दर्य, गामबेसी, नारी अस्मिता, संवेदना विषयका ६३ गीत (कविता तथा ‘मेराकी’ (ग्रिक शब्दमा कामप्रतिको समर्पण भाव) मा मुक्तिको चाहना राखिएका ३७ कविता समाविष्ट छन् । राष्ट्रकवि माधव घिमिरेका पुत्र-पुत्री घिमिरे र पौडेलका कृतिको विमोचन आमा महाकालीसहितका अतिथिहरूले विमोचन गरेका हुन् ।

पौडेलका यसअघि गीत, गीति एल्बम, गजल, कथा, कविता, सम्पादन गरेर १२ कृति प्रकाशन भइसकेका छन् भने घिमिरेको यो पहिलो कृति हो । दुवै कविता कृति ‘आवरण प्रकाशन’ द्वारा प्रकाशन भएका हुन् । सो अवसरमा प्रमुख अतिथि प्रा. डा. कृष्णहरि बरालले ‘पेनड्राइभ’ माथि समीक्षा गर्दै लयात्मक, ध्वन्यात्मक, व्यङ्ग्यात्मक र प्रतीकात्मक शैली तथा सरल अभिव्यक्तिबाट काव्यको शक्ति र ज्योति छर्न सकेको बताए ।

नियात्राकार प्रतीक ढकालले ‘मेराकी’ मा विषयवस्तुलाई हेर्ने दृष्टिकोण नै अनौठो रहेको जनाउँदै आफूले घिमिरेलाई आफू भित्र हेर्ने कविका रूपमा पाएको दाबी गरे ।

कवि पौडेलले कोरोना र अन्य समयमा समसामयिक विषयमा आफूले स्वदेशको मायामा र बालबालिकाका लागि पनि गीत,कविता कोरेको बताउँदै कवि घिमिरेले आफूले धेरै सोचेर र शब्द शब्द तौलेर कविता लेख्न प्रयास गरेको स्पष्ट पारे । दुवै समीक्षकले कृतिकारहरूलाई पिताको प्रभावबाट मुक्त हुन पनि सुझाव दिए ।

आवरण प्रकाशनका प्रबन्ध निर्देशक रमेश पौडेलले आयोजकका तर्फबाट स्वागत गर्दै संस्थालाई कृति प्रकाशनका अतिरिक्त प्राज्ञिक बहस गर्ने थलोको रूपमा लैजाने जानकारी दिए । समारोहमा साहित्य, समाजसेवा, स्वास्थ्य र कूटनीतिक क्षेत्रका अतिथिहरूको बाक्लो उपस्थिति थियो । समारोहमा अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । रासस


ताजा खबर