यो निन्द्रा कति पर्छ होला किन्दा ?

~विनु खड्का

यो निन्द्रा कति पर्छ होला किन्दा ?

किनेर भएनी निदाउन पाए,

कति मज्जा आउँदो हो बिहान बिउँझिदा।

ननिदाएको रात भयानक लाग्ने,

ट्वाल्ट्वाल्ती छर्लङ्ग पार्ने,

एक्लै आफेैसँग बात मार्ने,

केके बोल्छ बोल्छ।

निन्द्रा नपर्नु ,

रातले कालो आवरण ओढ्नु ,

मनभित्र कुरा हुरी झै चल्नु,

यो कस्तो ब्यथा ?

यो निन्द्रा कति पर्छ होला किन्दा ?

खर्चेर भएनी मसक्क सुत्दा,

कस्तो मज्जा आउँदो हो बिहान उठ्दा ।

गन्दा एक रात,

भोग्दा एक युग ,

उज्यालो हुन्जेल त दुइ युगै बित्ला।

कि निदरी अलिकता दिनु,

होइन भने सुर्य उदाइदिनु।

यादहरुको उडान

तीब्र गतिमा

फुत्तै दस बर्ष अगाडि ,

चुँईईय बीस बर्ष पछाडि

रकेटको स्पिडमा

होइन यो आज र अहिलेमा किन अडिदैन

यादहरु ब्रेकनै नलाग्ने सवारीमा घुम्दै

म भने मरिहत्ते गरि आँखा सिउदै

यो निन्द्रा कति पर्छ होला किन्दा

किनेर भए पनि निदाउन पाए

कति मज्जा आउदो हो बिहान बिउझिदा।।


ताजा खबर