टि-२० शृङ्खलाको पहिलो खेल नामिबियाले जित्यो

त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ ।

जितका लागि नामिबियाले प्रस्तुत गरेको दुई सय सात रनको लक्ष्य पच्छाउनेक्रममा नेपाल १८ दशमलव पाँच ओभरमा सवै विकेट गुमाउदै एक सय ८६ रनमा समेटियो ।

सुरुआती ब्याटिङ कमजोर रहेको नेपालले मध्यक्रममा भने केही सम्हालिएर ब्याटिङ गरे पनि जित निकाल्न भने सकेन ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३२ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ४८ रन बनाए । त्यसैगरी कप्तान रोहितकुमार पौडेलले ४२ रन बनाए । उनले तीन चौका र तीन छक्का प्रहार गरे ।

तेस्रो विकेटका लागि कप्तान पौडेल र कुशल मल्लले २८ बलमा ५७ रनको उत्कृष्ट साझेदारी गरेका थिए । मल्लले ३२ रन बनाए । त्यस्तै गुलशन झाले १२ रन बनाए भने आसिफ शेख र विवेक यादवले समानले छ/छ रन जोडे । सन्दीप जोराले पाँच रन बनाए ।

नामिबियाका रुबेन ट्रम्पलम्यानले चार विकेट लिए भने बर्नार्ड स्कोलज, निकोल लोपफटी इटन र जान फ्रिलिङकले समान दुई-दुई विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ राजेको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाउदै दुई सय ६ रनको योगफल बनाएको थियो ।

नामिबियाका लागि जान निकोल लेफिट इटनले उत्कृष्ट ब्याटिङ गर्दै शतक प्रहार गरे । उनले ३६ बलमा ११ चौका र आठ छक्काको मद्धतमा सर्वाधिक एक सय एक रनको योगदान दिए ।

इटनले नेपालका कुशल मल्लको नाममा रहेको कीर्तिमानी पनि तोडेका छन् । उनले ३३ बलमै शतक पूरा गरे । यसअघि मल्लले सन् २०२३ मा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा मङ्गोलियाविरुद्धको खेलमा ३४ बलमा शतक प्रहार गर्दै कीर्तिमानी कायम गरेका थिए ।

त्यसैगरी मलना क्रुगरले ४८ बलमा छ चौका र दुई छक्काको मद्धतमा अविजित ५९ रन बनाए । त्यस्तै माइकल भान लिङ्गेनले २० रन बनाउदा जेपी कोट्जेले ११ रन तथा कप्तान जेजे स्मितले अविजित एक रन जोडे ।

बलिङतर्फ नेपालका कप्तान रोहित पौडेलले दुई विकेट लिए भने करण केसी र अभिनास बोहोराले समान एक-एक विकेट लिए । जारी प्रतियोगितामा भोलि नेपाल र नेदरल्यान्डबीच विहान ११:३० बजे प्रतिस्पर्धा हुनेछ । रासस


ताजा खबर