अमलेखगंजमा १२ करोड ५० लाखमा क्यानोपी ब्रिज निर्माण गरिने

अमलेखगंजको जङ्गलमा १२ करोड ५० लाखमा क्यानोपी ब्रिज निर्माण गरिने भएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको बाराको अम्लेखगंजको जङ्गलमा करिब १२ करोड ५० लाखको लागतमा नेपालकै सबैभन्दा लामो क्यानोपी ब्रिज निर्माण गरिने भएको हो ।

जीतपुर सिमरा उपमहानगरपालिकाले संघ, प्रदेश र विभिन्न उद्योगी व्यवसायीहरूको सहयोगमा क्यानोपी ब्रिज निर्माणको लागि आवश्यक कार्य अगाडी बढाएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ अम्लेखगञ्जमा पर्यापर्यटनको बिकास गरी उपमहानगरपालिकालाई पर्यटनको हबको रुपमा विकास गर्ने उद्देश्यका साथ २५ सय मिटर लामो क्यानोपी ब्रिज बनाउन लागेको जीतपुर सिमरा उपमहानगरपालिकाका पर्यटन तथा सहकारी बिकास शाखा प्रमुख अधिकृत सुधन चौधरीले जानकारी दिनुभयो ।

हात्तीसारदेखि कामनी दहसम्म २५ सय मिटर लामो क्यानोपि ब्रिज बनाउने विषयमा अध्ययन तथा अनुसन्धान भइरहेको बताउँदै प्रमुख अधिकृत चौधरीले क्यानोपी ब्रिजको डि.पि.आर. तयार गर्नको लागि उपमहानगरपालिकाले प्लेटफर्म ईन्जिनीयरिङ्ग कन्सलटेन्सीसँग सम्झौता गरिसकेको जानकारी दिनुभयो ।

क्यानोपि ब्रिज झुलुङ्गे पुल झैँ आकृति भएको ब्रिज हो । क्यानोपी ब्रिज बनेपछि पर्यटकहरूलाई जङ्गली जनावरहरूको गतिविधि अवलोकन गर्न एवं जनावरका बारेमा अध्ययन तथा अनुसन्धान गर्न सहज हुने बताउनुभयो । रासस


ताजा खबर