कांग्रेसको महासमिति बैठक आजदेखि सुरु हुँदै

नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि ललितपुरको गोदावरीमा सुरु हुँदैछ ।

प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गतेदेखि फागुन १० गतेसम्म हुने महासमिति बैठकका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको र बैठकको उद्घाटन पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने नेपाली काँग्रेसले जनाएको छ ।

कांग्रेस प्रचार—प्रसार विभागले महासमिति बैठकका बारेमा जानकारी दिन आज महासमिति बैठक हुने स्थान ललितपुरको गोदावरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले महासमिति बैठकमा पार्टीको साङ्गठनिक, समसामयिक राजनीति, मुलुकको आर्थिक अवस्था लगायतका विषयमा विशेषरुपमा छलफल हुने बताउनुभयो ।

प्रचार विभाग प्रमुख विश्वकर्माले यस महासमिति बैठकमा सबै वर्ग क्षेत्रको प्रतिनिधित्व हुने गरी समूहहरू निर्माण गरी समूहगत रुपमा छलफल गरिने पनि जानकारी दिनुभयो ।

नीति अधिवेशनको रूपमा सम्पन्न हुने महासमितिको बैठकमा प्रस्तुत हुने प्रतिवेदनहरूले वर्तमान राजनीतिक परिवेशलाई उचित सम्बोधन गर्दै काँग्रेसले जनताको अवस्था परिवर्तनका लागि विश्वासिलो र भरपर्दो गरी काम गर्छ भन्ने विश्वास दिलाउने प्रचार विभाग प्रमुख विश्वकर्माले बताउनुभयो ।

भोलि दिउँसो १ बजेदेखि सुरु हुने नेपाली काँग्रेसको महासमिति बैठकमा १ सय ६५ केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, १ हजार ७ सय ८० महासमिति सदस्यहरूका साथै नेपाली काँग्रेस जनसम्पर्क समितिबाट ८९ जना, भातृ तथा शुभेच्छुक संस्थाहरूबाट ६९ जना, महासमितिका सदस्य नरहेका प्रदेश सभापति, जिल्ला सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरू सहभागी हुनुहुने नेपाली काँग्रेसले जनाएको छ । रासस


ताजा खबर