२०औँ एनएसएसजेएफ पल्सर स्पोर्टस् अवार्ड सम्पन्न

वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड एथलेटिक्सका चन्द्र गुरुङलाई

एथलेटिक्सका चन्द्र गुरुङले यस वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पार्नुभएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा भएको २०औँ संस्करणको एनएसएसजेएफ पल्सर स्पोर्टस् अवार्डअन्तर्गत गुरुङले उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पार्नुभएको हो ।

अवार्डको शीर्ष तीन मनोनयनमा पर्नुभएका बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमटालाई पछि पार्दै उहाँले अवार्ड हात पार्नुभएको हो । उहाँले १६औँ एशियाली क्रसकन्ट्री च्याम्पियनसिपमा नेपाललाई दुई स्वर्णपदक दिलाउनुभएको थियो । त्यस्तै उहाँकै प्रशिक्षणमा बङ्गबन्धु शेख मुजिव ढाका म्याराथनमा पनि नेपालले १एक स्वर्ण र २ कास्यपदक जितेको थियो ।

पहिलो ओलम्पियन भारोत्तोलनका राजेन्द्रकुमार प्रधानलाई लाइफ ‘टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । ६९ वर्षीय उहाँले ५५ वर्ष भारोत्तोलनको विकासका निम्ति उल्लेखनीय योगदान गर्नुभएको छ ।

वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड क्रिकेटका देव खनाललाई प्रदान गरिएको छ । मनोनयनको शीर्ष तीनमा रहनुभएका एथ्लेटिक्सका राममाया बुढा र बक्सिङका सुष्मा तामाङलाई पछि पार्दै राष्ट्रिय टोलीका ब्याट्सम्यान देवले युवा खेलाडीको पुरस्कार जित्नुभएको हो ।

खनालकै नेतृत्वमा नेपालको युवा टोलीले आठ वर्षको प्रतीक्षापछि आइसिसी यु–१९ क्रिकेट विश्वकपमा सहभागिता जनाएको थियो । उहाँकै नेतृत्वको टोलीले एशिया क्षेत्रीय छनोटको च्याम्पियन भएर प्रतियोगितामा स्थान सुरक्षित गरेको थियो ।

पोखराका फोटो पत्रकार सुदर्शन रञ्जितले ‘स्पेशल अवार्ड’ प्राप्त गर्नुभएको छ । उहाँले चार दशक अघिदेखि पोखरामा भएका विभिन्न खेल गतिविधिका तस्बिर खिच्दै आउनुभएको छ । मध्यम तथा लामो दूरीकी धाविका राजपुरा पछाइले उत्कृष्ट महिला खेलाडीको उपाधि पाउनुभएको छ ।

उहाँले एशियाली क्रसकन्ट्रीको महिला १० किमी र ‘टिम इभेन्ट’मा दुई रजत पदक जित्नुभएको थियो । पछाइले मनोनयनको शीर्ष तीनमा पर्नुभएका धाविका पुष्पा भण्डारी र राष्ट्रिय महिला बास्केटबल टिमकी उपकप्तान अनुशा मल्ललाई पछि पार्दै उपाधि जित्नुभएको हो ।

यसैगरी वर्षको उत्कृष्ट पुरुष खेलाडीको उपाधि एथ्लेटिक्सका दीपक अधिकारीले पाउनुभएको छ । उहाँले शीर्ष तीनको मनोनयनमा पर्नुभएका राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र आसिफ शेखलाई पछि पर्नुभएको हो ।

टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठले ‘पिपल्स च्वाइस अवार्ड’ प्राप्त गर्नुभयो । पिपल्स च्वाइस मनोनयनमा पर्नुभएका पाँच खेलाडीमध्ये सबैभन्दा धेरै मत पाएर उहाँले यो अवार्ड जित्नुभएको हो । अवार्डको मनोनयनमा फुटबलर अनन्त तामाङ, भलिबलका निरुता ठगुन्ना, करातेका विप्लबलाल श्रेष्ठ र बडिविल्डिङकी रजनी श्रेष्ठ हुनुहुन्थियो ।

पारा ओलम्पियन मैया विशुङ्खेले पारा एथलिट सम्मान हासिल गर्नुभयो । एथलेटिक्समा अब्बल उहाँ सन् २००६ मा राष्ट्रिय च्याम्पियनसिपमा सहभागी हुनुभएको थियो । त्यतिबेला नै उहाँले स्वर्णपदक जित्नुभएको थियो ।

यसैगरी अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासङ्घ (एआइपिएस)को युवा पत्रकार प्रशिक्षण कार्यक्रम वाइयसआरका प्रमुख मेन्टर हङकङ स्पोर्टस् प्रेस एशोसिएसनका अध्यक्ष रेमन्ड एशियाली खेलकुद पत्रकार सम्मानबाट सम्मानित हुनुभयो ।

वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडीले पुरस्कारस्वरुप पल्सर मोटरसाइकल प्राप्त गर्नुभएको छ । त्यस्तै अन्य विधाका विजेताले भने जनही रु ५० हजार प्राप्त गर्नुभयो । रासस


ताजा खबर