यू-१९ विश्वकप सुपर सिक्समा आज नेपाल र भारत खेल्ने

आईसीसी यू–१९ विश्वकप अन्तर्गत सुपर सिक्सको आफ्नो अन्तिम खेलमा नेपालले शुक्रबार भारतसँग खेल्दैछ।

दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङग ओभलमा हुने खेल दिउँसो पौने २ बजे सुरु हुनेछ।

सुपर सिक्स अघि नै सेमिफाइनलको दौडबाट बाहिरिसकेको नेपाल भारतसँग खेल्दै औपचारिक रुपमा विश्वकप यात्रा टुङ्गाउनेछ।

सुपर सिक्सको दौडबाट बाहिरिसकेका कारण नेपालका लागि आजको खेल अनुभवका लागि हुनेछ। त्यसैले नेपाली टोली खुलेर खेल्नु आवश्यक छ।

विश्वकपमा नेपाल र भारत तेस्रो पटक भेट हुँदैछन्। यसअघि ८ वर्षअघि सन् २०१६ मा भेट भएका थिए।

तर नेपाली र भारतिय युवा टोली पछिल्लो पटक गत डिसेम्बरको एसिया कपमा भेट भएका थिए।

नेपाली युवा टोलीसामु एसिया कपमा भारतसँग भोगेको हारको बदला लिने अवसर छ। भारतीय युवा टोली भने नेपालमाथि जितको लयलाई नै निरन्तरता दिने योजनामा हुनेछन्।

सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो।

उता भारतले भने सुपर सिक्सको पहिलो खेलमा न्युजिल्यान्डमाथि २ सय १४ रनको फराकिलो जित दर्ता गरेको थियो।

आजको खेलमा भारतले नेपाललाई पराजित गरे शीर्ष स्थानमा रहेर सेमिफाइनलमा स्थान बनाउनेछ।

सुपर सिक्सबाट समुह ए र बी का शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।

विश्वकपमा आशा गरिएका अनुभवी अलराउण्डर गुलशन झाबाट अपेक्षित प्रर्दशन हुन सकेको छैन। गुलशनको कमजोर प्रर्दशनमा नेपालले उत्कृष्ट प्रर्दशन गर्न सकेको छैन।

कप्तान देव खनालले भने आफ्नो भुमिका निभाइरहेका छन्। विश्वकपमा नेपालको शीर्ष क्रमका ब्याटर चल्न सकेका छैनन्।

नेपालका बलरहरुले नै नेपालको साख राख्दै आएका छन्। बलिङमा मात्र होइन, ब्याटिङमा पनि नेपालका बलर क्रिजमा जमिरहेका छन्।

भारतविरुद्ध कप्तान देव खनाल र ओपनर अर्जुन कुमालमाथि नै धेरैको आशा छ।

बलरमा आकाश चन्द र सुवास भण्डारीमाथि धेरैको नजर हुनेछ। आकाशले सुमह चरणमा अफगानिस्तानसँग र सुवासले सुपर सिक्समा बंगलादेशविरुद्ध सनसनी मच्चाएका थिए।

नेपाललाई सुपर सिक्समा पुर्याउन आकाश एक्लैले अफगानिस्तानको ५ विकेट झारेका थिए।

सुपर सिक्समा बंगलादेशविरुद्ध सुवास भण्डारी एक्लैले पाँच विकेट लिए पनि टोलीको हार टार्न सकेनन्।

नेपालका लागि भारतिय ब्याटर मसिर खान र आर्दश सिहंलाई रोक्न आवश्यक छ। समी पाण्डे र नमन तिवारीबाट नेपाली ब्याटर सचेत रहन आवश्यक छ।

आईसीसी यू–१९ विश्वकपमा नेपाल र भारत तेस्रो पटक भेट हुन लागेका हुन्। यसअघिका दुवै भेटमा नेपाली टोलीमाथि भारत हावी हुँदै आएको छ।

नेपाल र भारत पहिलो पटक सन् २००० मा भेट भएका थिए। उक्त भेटको सुपर लिगमा भारतसँग नेपाल ८ विकेटले पराजित भएको थियो।

त्यसको १६ वर्षपछि नेपाल र भारत सन् २०१६ मा भेट भएका थिए। समुह चरणमा भएको उक्त भेटमा भारतले नेपालमाथि ७ विकेटको जित निकालेको थियो।  रासस


ताजा खबर