थ्री स्टार क्लब पोखरा गोल्डकपको फाइनलमा

थ्री स्टार क्लब पोखरामा जारी २३ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०८० को फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा  विहिवार भएको पहिलो सेमिफाइनल खेलमा जावलाखेल युथ क्लबलाई १–० ले पराजित गर्दै थ्री स्टार क्लब फाइनलमा यात्रा तय गरेको हो ।

थ्री स्टारको जितमा दोस्रो रोजाइका खेलाडी दिपेश घलेले गरेको एक गोल नै निर्णायक बन्न पुग्यो । घलेले डिवक्समा पाएको बललाई पोष्ट चार्ज गर्दा विपक्षी गोलरक्षक अनिस देउलाको हातबाट फुत्केर दोस्रो वार हुँदै बलले जाली चुमेको हो । खेलको ६७ औँ मिनेटमा मौसम सुब्बाको स्थानमा मैदान छिर्नु भएको घलेले खेलको ७८ औँ मिनेटमा गोल गर्नु भएको हो । थ्री स्टार आहा रारा पोखरा गोल्ड कपको ५ बर्ष पछि पहिलो पटक फाइनलमा प्रवेश गरेको हो । थ्री स्टार क्लब यस अघि यस प्रतियोगितामा ५ पटक विजेता भएको टिम हो भने जाउलाखेल २०६८ सालमा दशौं आहा रारा पोखरा गोल्ड कपको फाइनलमा पुगेर पनि मनाङ मर्स्याङ्दी क्लबसँग पराजित भएको थियो ।

खेलमा थ्री स्टारका विवेक पौडेल म्यान अफ दी म्याच घोषित हुँदै नगद दश हजारको साथमा ट्रफी हात पार्न सफल हुनुभयो । जाउलाखेलले पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा थ्री स्टारसँग पराजित हुनुपर्यो । जाउलाखेलका सुनिल खड्का, युसुव थपलिया, प्रदीप बुढाथोकीका केही प्रहार सदुपयोग हुन सकेन । थ्री स्टारले पाएका केही अवसर गुम्दा गोल अन्तर फराकिलो पार्न सकेन ।

भोलि (बिहीबार) अन्तिम सेमिफाइनल खेलमा चर्च ब्वाइजले विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष केशवराज बरालले बताउनुभयो । बिहीबारको विजेता टिम थ्री स्टार क्लबसँग फाइनल खेल माघ २० गते खेल्ने भएको छ ।

यही माघ २० गते फाइनल खेलसहित प्रतियोगिता समापन हुने आयोजक सहारा क्लबले जनाएको छ । २३ ओैं संस्करणको आहा रारा पोखरा गोल्ड कपको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार पुरस्कार प्राप्त गर्ने महासचिव रामजी प्रसाद अधिकारीले बताउनुभयो । यही माघ ९ गतेदेखि सुरु भएको प्रतियोगितामा एक विदेशीसहित १२ टिमको सहभागिता रहेको खेल संयोजक पूर्णबहादुर गुरुङले जनाउनुभयो । रासस


ताजा खबर