सरकारी कार्यालय आजदेखि ५ बजेसम्म खुल्ने

देशभरका सम्पूर्ण सरकारी कार्यालय आजदेखि अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो ।

सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोक्ने गरेको छ ।

वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् ।

शुक्रबारका दिन बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ला रहने गृहमन्त्रालयले जनाएको छ । सरकारले दिउँसो १.३० देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ । रासस


ताजा खबर