नौ महिनाका बालकमा देखियो विश्वकै दुर्लभ रोग

पाल्पाका नौ महिने बालक सृजम बिष्टमा विश्वमै दुर्लभ मानिने ‘स्पाइनल मस्क्युलर एट्रोपी’ रोग देखिएको छ ।

जिल्लाको तानसेन नगरपालिका–११ बाझाकी सृजना भट्टराई बिष्ट र महेन्द्र बिष्टका नौ महिने छोरा उक्त रोगबाट ग्रस्त भएपछि परिवारले सबैसँग आर्थिक सहयोगको लागि अपील गरेका छन् ।

बालक सृजम चार महिनाको हुँदासम्म कुनै समस्या नरहेको र त्यसपछि बिस्तारै समस्या देखिन थालेपछि परीक्षणको क्रममा धेरै अस्पतालहरुमा लगिएको र दिल्लीस्थित बिएलके म्याक्स अस्पतालमा परीक्षणको क्रममा उक्त रोग लागेको पत्ता लागेको परिवारिक स्रोतले जनाएको छ ।

यो रोग लागेपछि बच्चामा नशा सुक्दै जाने, मासु नबढ्ने, उठ्न बस्न नमिल्ने, पटक पटक निमोनिया हुने, खाना नपच्ने लगायतका समस्या देखिएको आमा सृजनाले बताउनुभयो ।

उनको रोग पहिचानकै लागि बिभिन्न अस्पतालमा लैजाने क्रममा सात लाख रकम खर्च भईसकेको छ ।

यो रोगको उपचार नेपालमा सम्भव नभएकाले उपचारका लागि अमेरिका लैजानुपर्ने र खोपकै लागि नेपाली २८ करोड रुपैयाँ खर्च हुने भएकोले आफूहरुले उक्त सबै रकम जोहो गर्न नसक्ने अवस्था रहेकोले बुवा महेन्द्र विष्टले सहयोग जुटाइदिन आग्रह गर्नुभएको छ । रासस


ताजा खबर