महाराजगञ्ज मेडिकल क्याम्पसको कार्डियोलोजी प्रमुखमा डा.पौडेल

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको महाराजगञ्ज मेडिकल क्याम्पसको कार्डियोलोजी विभागको प्रमुखमा एसोसिएट प्रोफेसर डा. चन्द्रमणि पौडेल नियुक्त हुनुभएको छ।

क्याम्पसले गतसाता मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका बरिष्ठ मुटुरोग विशेषज्ञ डा.पौडेललाई विभागीय प्रमुखको जिम्मेवारी दिएको हो।

विभागीय प्रमुखको जिम्मेवारी दिएसँगै उहाँले कार्यभार समेत सम्हालिसक्नु भएको छ। कार्डियोलोजी विषयमा डीएम गर्नुभएका डा.पौडेलले भारतबाट इन्टरभेन्सनल कार्डियोलोजीमा फेलोसीप गर्नुभएको छ । उहाँसँग २० बर्ष भन्दा बढिको अनुभव छ।

डा.पौडेल गत बर्ष रोयल कलेज अफ फिजिसियन अफ इडेनबर्ग बाट सम्मानित हुनुभएको थियो। उहाँले सोसाइटी अफ कार्डियोभास्कुलर एन्जियोग्राफी एण्ड इन्टरभेन्सन अमेरिका तथा एसिया प्यासिफिक सोसाइटी अफ कार्डियोलोजीको विशेष सम्मान समेत ग्रहण गरिसक्नुभएको छ ।

हृदयघात भएका हजार भन्दा धेरै विरामीको कोरोनरी एन्जियोप्लाष्टी गरेर जिवन रक्षा गर्न सफल डा.पौडेलले देशका विभिन्न अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञहरुलाई तालिम तथा प्रशिक्षण समेत दिनुभएको छ ।

स्याङ्जाको हिमालयन बोर्डिङ स्कुलमा अध्ययन गर्नुभएका डा.पौडेल एसएलसीमा जिल्लाकै सर्वोत्कृष्ट विद्यार्थी समेत हुनुहुन्छ । उहाँ प्रवीणता प्रमाण पत्र तहमा पनि पोखराको पृथ्वी नारायण क्याम्पसबाट विज्ञान संकायमा सर्वोत्कृष्ट विद्यार्थी हुनुभएको थियो ।

नेपालगन्ज मेडिकल कलेजबाट पूर्ण छात्रवृत्तिमा चिकित्सा शास्त्रमा स्नातक गर्नुभएका डा.पौडेलले इन्टरनल मेडिसिनमा स्नातकोत्तर(एमडी) गरेपछि कार्डियोलोजीमा डी.एम. गर्नुभएको हो ।

डा.पौडेल हाल त्रिबि शिक्षण अस्पताल महाराजगञ्ज र काडमाडौं चावहिल स्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.मा कार्यरत हुनुहुन्छ ।


ताजा खबर