माओवादी केन्द्रको विधान सम्मेलन फागुनको पहिलो साता

नेकपा (माओवादी केन्द्र)ले आगामी फागुनको पहिलो साता विधान सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले फागुन १ देखि ३ गतेसम्म सम्मेलन आयोजना गर्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

बैठकले विधान सम्मेलनको प्रतिनिधि छनोटको आधार समेत तय गरेको उपाध्यक्ष सापकोटाले जानकारी दिनुभयो । बैठकमा विभिन्न पार्टीसँग एकताका विषयमा पनि छलफल भएको थियो । बैठकले पार्टी एकताका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा एकता संयोजन समिति बनाएको छ ।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समग्र परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्नुभएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

स्थायी समितिमा दश वटै प्रदेश इन्चार्जहरूले हालै सम्पन्न अभियानका बारेमा संक्षिप्त प्रस्तुत दिनुभएको थियो । माओवादीले पार्टी रुपान्तरणका लागि गत भदौदेखि चार महिने अभियान सञ्चालन गरेको थियो ।


ताजा खबर