पाँच वर्षपछि नेपाल रेडक्रसले पायो पुनः वैधता

लामो समयदेखि दर्ता नवीकरण हुन नसकेको नेपाल रेडक्रस सोसाइटी निर्वाचित कार्यसमितिको पहलमा नवीकरण भएको छ । यही पुस १८ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट संस्था नवीकरणको प्रमाणपत्र प्राप्त भएको रेडक्रस सोसाइटीले जनाएको छ । यससँगै संस्थाले कानुनी वैधता प्राप्त गरेको छ ।

नेपाल रेडक्रस २०७६ सालदेखि नवीकरण हुन सकेको थिएन । आव २०८०/०८१ सम्मका लागि संस्था नवीकरण भएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँले संस्था नवीकरण भएसँगै रेडक्रस अभियानसँग सम्बद्ध सबैमा सकारात्मक भावनाको सञ्चार भई संस्थाले थप गतिशीलता प्राप्त गरेको बताउनुभयो ।

नेपाल रेडक्रसको यसअघिको कार्यसमितिमा विवाद हुँदा लामो समयदेखि संस्था प्रभावित बनेको थियो । विपद्का समयमा मानवीय सेवामा खट्नुपर्ने संस्थाको नेतृत्वमा असमझदारी बढ्दा रेडक्रसले प्रभावकारी काम गर्न सकेको थिएन । स्थापनाकालदेखि वैधानिक दायित्व पूरा गर्दै अघि बढिरहेको नेपाल रेडक्रसको २०७६ चैतमा तय भएको विशेष महाधिवेशन हुन नसकेपछि संस्थाले कानुनी वैधता गुमाएको थियो ।

केन्द्रीय कार्यसमितिको निर्वाचन हुन नसकेको अवस्थामा नेपाल सरकारबाट पटक–पटक तदर्थ समिति गठन भए पनि उक्त समितिले अधिवेशन गर्न सकेको थिएन । रेडक्रस प्रेमीको साझा प्रयत्नबाट गत साउन २ र ३ गते सम्पन्न विशेष महाधिवेशनले प्रा सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा ३३ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।

लामो समयदेखि नवीकरण हुन नसकेको संस्था नवीकरण हुनु नै वर्तमान कार्यसमितिको ठूलो उपलब्धिका रुपमा रहेको अध्यक्ष नेपाल बताउनुहुन्छ । यसबीचमा नेपाल रेडक्रसको अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग पनि सम्बन्ध प्रगाढ बन्दै आएको उहाँको भनाइ छ ।

नयाँ कार्यसमितिले अघिल्ला तीन वर्षको लेखा परीक्षण सम्पन्न तथा आव २०८०/०८१ सम्मको वार्षिक प्रतिवेदन तयार गरेको छ । यसबीचमा वार्षिक साधारणसभा सम्पन्न, आव २०७९/८० सम्मको कर चुक्ता प्रमाणपत्र प्राप्त, गत मङ्सिर मसान्तसम्म समाज कल्याण परिषद्मा बुझाउनुपर्ने दायित्व भुक्तानी गरिएको रेडक्रसले जनाएको छ ।

नेपाल रेडक्रसको विधानलाई समावेशी बनाउने उद्देश्यका साथ मौजुदा विधान र नियमावलीलाई समयसापेक्ष परिमार्जन गरी सेवा प्रवाहमा सुधार ल्याइने रेडक्रसले जनाएको छ । रेडक्रसले आगामी फागुन २७ र २८ गते विधान अधिवेशन गर्ने तयारी गरेको छ ।

विसं २०२० भदौ १९ गते स्थापना भएका नेपाल रेडक्रस सोसाइटी मानवीय सेवाका क्षेत्रमा सरकारको सहयोगी निकाय र समुदायको नजिकको संस्थाका रुपमा रहेको छ । रेडक्रसले विपद् व्यवस्थापन तथा प्रतिकार्य, सामुदायिक स्वास्थ्य सेवा, रक्तसञ्चार, एम्बुलेन्स, आँखा स्याहार, पर्यावरणीय संरक्षण, जनचेतना अभिवृद्धि, अन्तर्राष्ट्रिय कानुनको प्रवद्र्धन, शान्ति र मानवीय मूल्यको प्रवद्र्धन लगाएका मानवीय सेवाका कार्य गर्दै आइरहेको छ ।

नेपाल रेडक्रसका सात प्रदेश, ७७ जिल्ला शाखा, एक हजार पाँच सय ६४ उपशाखा तथा छ हजार आठ सय ३२ जुनियर युवा रेडक्रस सर्कलमा १२ लाख बढी स्वयम्सेवक आबद्ध छन् । रासस


ताजा खबर