मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक

सरकारले एनसेलको सेयर खरिदबिक्री भएको भनिएको सम्बन्धमा अध्ययन तथा छानविन गर्न मङ्सिर २१ मा गठित समितिको कार्यविधि २०८० साल माघ १५ गतेसम्म थप गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले सरकारले प्रधानमन्त्री दैविप्रकोप सहायता कोषबाट २ अर्ब रुपैयाँ विपत् व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभयो । मन्त्री शर्माले सो रकम भूकम्प प्रभावित जिल्लामा खर्च गरिने बताउनुभयो ।

पत्रकार सम्मेलनमा मन्त्री शर्माले भरतपुर महानगरपालिका १५ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सञ्चालन तथा व्यवस्थापन गर्ने प्रयोजनको लागि बागमती प्रदेश सरकारसँगको साझेदारीमा गर्न भरतपुर महानगरपालिकालाई सहमति प्रदान गरेको पनि जानकारी दिनुभयो ।

यस्तै मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको नेतृत्वमा युगाण्डाको राजधानी कानपालामा यही माघ ५ देखी ६ सम्म हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको गठन गर्ने निर्णय गरेको मन्त्री शर्माले बताउनुभयो ।

सञ्चारकर्मी एक फरक जिज्ञासामा सञ्चार मन्त्री शर्माले ललितपुरको बालकुमारी र सर्लाहीको बरहथवामा हालै भएको घटना दुःखद भएको भन्दै यस्ता घटना हुन नदिने तर्फ सबै सचेत रहनुपर्ने र भड्काउने काम कहीँकतैबाट गरिनु नहुने बताउनुभयो । रासस

 


ताजा खबर