धान उत्पादन ४.३३ प्रतिशतले वृद्धि भएको तथ्याङ्क सार्वजनिक

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धान उत्पादनको तथ्याङ्क सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षमा ४.३३ प्रतिशतले वृद्धि भएको कृषि मन्त्रालयले जनाएको छ ।

यो चालु आवमा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन उत्पादन भएको थियो । गत वर्षभन्दा यो वर्ष दुई लाख ३७ हजार ७६२ मेट्रिक टन धान बढी उत्पादन भएको छ । जुन विगत चार वर्षको औसत उत्पादनको तुलनामा ५.०८ प्रतिशतले बढी हो । धान बालीको औसत उत्पादकत्व गत आवको तुलनामा ४.९७ प्रतिशतले वृद्धि भई ३.९८ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ, जुन गत चार वर्षको औसत उत्पादकत्वभन्दा ६.९२ प्रतिशतले बढी रहेको कृषि मन्त्रालयले दाबी गरेको छ ।

धान उत्पादनमा वृद्धि भएपछि गत वर्षभन्दा कम क्षेत्रफलमा धान रोपाइँ भएको थियो । आव २०७९/८० मा १४ लाख ४७ हजार ७८९ हेक्टरमा रोपाइँ भएको थियो भने चालु आवमा १४ लाख ३८ हजार ९८९ हेक्टरमा रोपाइँ भएको थियो । गत वर्षभन्दा आठ हजार आठ सय हेक्टर क्षेत्रमा कम रोपाइँ भएको थियो तैपनि धान उत्पादनमा वृद्धि भएको कृषि मन्त्रालयले दाबी गरेको छ ।

कृषि मन्त्रालयका अनुसार कुल धान बाली भित्र्याइएको क्षेत्रफल गत आवको तुलनामा ०.६१ अर्थात् आठ हजार आठ सय हेक्टरले कमी भई १४ लाख ३८ हजार ९८९ हेक्टर क्षेत्रफल कायम भएको हो । यो क्षेत्रफल गत चार आवको औसत क्षेत्रफलको तुलनामा १.७३ प्रतिशतले कम रहेको कृषि मन्त्रालयले जनाएको छ ।

धानको उत्पादन सबभन्दा कोशी प्रदेशमा र सबभन्दा कम कर्णाली प्रदेशमा भएको छ । उत्पादकत्वतर्फ कोशी प्रदेशमा ४.४३ मेट्रिक टन प्रतिहेक्टर उत्पादन भएको छ भने मधेश प्रदेश ३.४९ मेट्रिक टन प्रतिहेक्टरमा सीमित भई न्यून स्थानमा पुगेको छ । गत आवभन्दा यो चालु आवमा मधेश प्रदेशमा बढी क्षेत्रमा धान रोपाइँमा भएको थियो तैपनि गत वर्षभन्दा यस वर्ष धान उत्पादनमा कमी आएको छ ।

कृषि मन्त्रालयका अनुसार गत वर्ष तीन लाख ७५ हजार हेक्टरमा धान रोपाइँ भएको थियो, जसमा १३ लाख ८८ हजार मेट्रिक टन धान उत्पादन भएको थियो तर चालु आर्थिक वर्षमा तीन लाख ८३ हजार हेक्टरमा धान रोपाइँ भए पनि १३ लाख ३७ हजार मेट्रिक टन मात्र उत्पादन भएको हो । अरू सबै प्रदेशमा गत वर्षभन्दा धान उत्पादनमा वृद्धि नै भएको छ ।

कृषि मन्त्रालयले धान उत्पादन वृद्धि हुनुमा उन्नत बिउको उपलब्धता र रोग किराको प्रकोपमा कमी, बाढीपहिरोबाट धान बालीमा पर्न जाने नकारात्मक असरमा कमी, मलखादको उपलब्धतालाई देखाएको छ । मधेश प्रदेशका केही जिल्लामा धान रोप्ने समयमा पर्याप्त वर्षा नभएका कारण समग्र मधेश प्रदेशको उत्पादन र उत्पादकत्वमा गत आवको तुलनामा ह्रास आएको कृषि मन्त्रालयले जनाएको छ ।

मुख्य धानको तुलनामा चैते धान विगतको जस्तै गत आवको तुलनामा उत्पादन र उत्पादकत्व वृद्धिको हिसाबले लुम्बिनी प्रदेश अग्रस्थानमा रह्यो भने मधेश प्रदेश ऋणात्मक अवस्थामा रहेको छ । रासस


ताजा खबर