महिलाहरुमा अधिक देखिन्छ मूत्र प्रणालीको सङ्क्रमण

मूत्रप्रणालीको सङ्क्रमण प्रायः महिलालाई अधिक हुन्छ । यसका अनेक कारण हुन सक्छन् । यस्तैमा अमेरिकाको वेक फरेस्ट बापटिस्ट मेडिकल सेन्टरले गुप्ताङ्ग वरिपरि धेरै चिलाउने तथा रातो दाग उत्पन्न भएमा महिलालाई मूत्र प्रणालीको सङ्क्रमण हुने जोखिम बढ्ने जनाएको छ । थेराप्युटिक एड्भान्स इन युरोलोजी अनलाइनमा यस अनुसन्धानको विवरण प्रकाशित गरिएको थियो ।

सो मेडिकल सेन्टरको सुझाव अनुसार सरसफाइ गर्ने तथा पौडी पोखरीमा नुहाउन छाडेमा गुप्ताङ्ग वरिपरि चिलाउने तथा रातो दाग उत्पन्न हुने समस्याबाट मुक्ति पाउन सजिलो हुन्छ । चिकित्साशास्त्रले भल्भाइटिस भन्ने यो समस्याले यौवनारम्भ सुरु नभएका बालिकालाई बढी सताउँछ ।

प्रायः सबै उमेरका महिलाले गुप्ताङ्ग वरिपरि चिलाउने र पोल्ने समस्या बेहोर्छन् । यस्तो समस्या भएका महिलालाई मूत्र प्रणालीको सङ्क्रमण हुने खतरा तुलनात्मक रूपमा आठ गुणा बढी देखिएको छ । यौवनारम्भ नभएका बालिकामा यस्तो समस्या बढी हुने भनिएकाले पेडियाट्रिक गाइनेकोलोजिस्टले नै यस समस्याको उपचार गर्नु पर्दछ ।

भल्भाइटिसले गर्दा छाला पोल्ने र त्यहाँ उत्पन्न हुने दागले मूत्र प्रणालीको सङ्क्रमणका लागि वातावरण तयार पार्दछ ।

शरीरको मूत्र प्रणालीमा हुने एक गम्भीर समस्याका रूपमा मूत्र प्रणालीको सङ्क्रमण चिनिन्छ । मूत्रथैली, मिर्गौला, मूत्रनली मूत्र प्रणालीका अङ्ग हुन् । यसैले मूत्र प्रणालीको कुनै पनि भाग सङ्क्रमित हुन सक्छ ।

मूत्र प्रणालीमा सङ्क्रमणका लक्षण :

  • पिसाबले निकै च्याप्छ ।
  • पिसाब गर्दा पोल्छ ।
  • चाँडै पिसाब लाग्छ तर थोरै पिसाब हुन्छ ।
  • पिसाब धमिलो देखिन्छ ।
  • पिसाब अलि रातो वा सुन्तला रङको देखिन सक्छ । यसो भएमा पिसाबमा रगत जान थालेको अनुमान गर्न सकिन्छ ।
  • पिसाबको गन्ध तीक्ष्ण हुन्छ ।
  • महिलामा तल्लो पेट दुख्छ ।
  • पुरुषको गुद्द्वारतर्फ दुख्छ ।
  • सङ्क्रमणले ज्वरो पनि आउन सक्छ ।

रोयटर्स


ताजा खबर