एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड माघमा

२०औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड माघ १२ गते हुनेभएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार २०७९ को स्पोर्ट्स अवार्डको मिति घोषणा गरेको हो ।

अवार्डमा नेपाली खेलकुदमा वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई विभिन्न नौ विधामा सम्मान गरिनेछ । जसमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, उत्कृष्ट खेलाडी महिला, उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधामा खेलाडी तथा खेलकर्मीहरू सम्मानित हुनेछन् ।

वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसको मनोनयन केही दिनमै सार्वजनिक गरिने तथा मनोनयन नहुने विधा लाइफटाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विजेताको घोषणा कार्यक्रमकै दिनमा गरिने मञ्चका महासचिव प्रज्वल ओलीले जानकारी दिनुभयो ।

वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडीले पुरस्कार स्वरूप पल्सर मोटरसाइकल प्रदान गरिनेछ । यस्तै अन्य चार विधाका विजेतालाई जनही ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ । अवार्डलाई यसवर्ष पनि हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकलले मुख्य प्रयोजन गर्नेछ ।

प्रयोजन सम्बन्धी सम्झौता पत्रमा आइतबार नै हंशराज हुलासचन्द कम्पनीका कार्यकारी निर्देशक अभिमन्यु गोल्छा र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले हस्ताक्षर गर्दै पत्र आदान प्रदान गर्नुभएको छ । यस अवार्डको अघिल्लो संस्करणमा पुरुषतर्फ फुटबलका अञ्जन विष्ट, महिलातर्फ भलिबलकी अरुणा शाही र प्रशिक्षकतर्फ फुटबलका अब्दुल्लाह अलमुताइरी, युवामा मनीष डाँगी उत्कृष्ट हुनुभएको थियो ।

यस्तै पिपल्स च्वाइस अवार्ड भलिबलकी उषा भण्डारीले जित्नुभएको थियो । स्पेसल अवार्ड ब्याडमिन्टन प्रशिक्षक दानबहादुर तामाङ र उहाँकी पत्नी मायादेवी मोक्तानलाई प्रदान गरिएको थियो । पारा एथलिट सम्मान तेक्वान्दोकी पलेशा गोवर्धन, एसियन स्पोर्ट्स जनर्नालिस्ट अवार्ड कतारका मोहम्मद हिजी र लाइफटाइम एचिभमेन्ट अवार्ड ओलम्पियन रघुराज वन्तलाई प्रदान गरिएको थियो । रासस


ताजा खबर