क्यान्सरको अचुक औषधि बन्दै जडीबुटी ‘यार्सागुम्बा’

यार्सागुम्बामा कोर्डिसेपिन पाइने पहिल्यै जानकारी रहेकाले यसलाई विश्वभर औषधिका रूपमा प्रयोग गरिँदै आएको थियो। तर, यसले क्यान्सर निको पार्ने क्षमता पनि राख्छ भनेर भर्खरै पत्ता लागेको हो।

यार्सागुम्बामा कोर्डिसेपिन पाइने पहिल्यै जानकारी रहेकाले यसलाई विश्वभर औषधिका रूपमा प्रयोग गरिँदै आएको थियो। तर, यसले क्यान्सर निको पार्ने क्षमता पनि राख्छ भनेर भर्खरै पत्ता लागेको हो।

हिमाली भेगमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा यसअघि नै विभिन्न रोगविरुद्ध लड्न प्रभावकारी मानिँदै आएको छ। हाल यार्सागुम्बाले क्यान्सरसमेत निको पार्न सक्ने प्रारम्भिक वैज्ञानिक परीक्षणबाट देखिएको छ। जसका कारण पहिल्यै ठूलो माग रहेको यार्सागुम्बा अझ अमूल्य हुने भएको छ।

यार्सागुम्बामा पाइने विशेष रसायनबाट वैज्ञानिकहरूले क्यान्सरको उपचार गर्न नयाँ किसिमको केमोथेरापी उपचार पद्धति पहिल्याएका छन्। प्रारम्भिक परीक्षणमा सो केमोथेरापी पहिलेको भन्दा प्रभावकारी पाइएको वैज्ञानिकहरूले बताएका छन्।

अक्सफोर्ड विश्वविद्यालयका खोजकर्ताहरूले यार्सागुम्बाबाट तयार गरेको ‘एनयूसी–७७३८’ क्यान्सरविरुद्ध निकै प्रभावकारी देखिएको हो। हाल परीक्षणकै क्रममा रहे पनि यो उपचार पद्धतिले क्यान्सरविरुद्धको विश्वव्यापी लडाइँ जित्न ठूलो सम्भावना देखाएको परीक्षणमा संलग्न वैज्ञानिकहरूले बताएका छन्।

‘एनयूसी–७७३८’मा रहेको ‘कोर्डिसेपिन’ नामक तत्त्व प्राचीन चिनियाँ उपचारमा प्रयोग हुने गरेको थियो। कोर्डिसेपिन प्राकृतिक रूपमा पाइने न्युक्लियोसाइड हो, जसले एन्टी–क्यान्सर, एन्टी–अक्सिडेन्ट, आगोले पोलेको घाउ निको पार्नेलगायत विभिन्न स्वास्थ्य समस्या समाधान गर्न महत्त्वपूर्ण भूमिका वहन गर्छ।

यार्सागुम्बामा कोर्डिसेपिन पाइने पहिल्यै जानकारी रहेकाले यसलाई विश्वभर औषधिका रूपमा प्रयोग गरिँदै आएको थियो। तर, यसले क्यान्सर निको पार्ने क्षमता पनि राख्छ भनेर भर्खरै पत्ता लागेको हो। विभिन्न रोग प्रतिरोधात्मक गुण भएका कारण पहिल्यै महँगो मूल्य र अधिक माग रहेको यो हिमाली जडीबुटीको क्यान्सरविरुद्धको गुण पत्ता लागेसँगै माग र मूल्य दुवै चर्किने अनुमान छ।

तर, प्राकृतिक रूपमै भने यार्सागुम्बाले क्यान्सर ठीक पार्न सक्दैन। यसबाट तयार गरिएको ‘एनयूसी–७७३८’मा प्राकृतिक रूपमा उपलब्ध कोर्डिसेपिनमा प्रयोगशालामा तयार गरिएका अन्य रासायनिक तत्त्व थपेर यसको प्रभाव बढाइन्छ। जसले यसलाई क्यान्सरविरुद्ध लड्न ४० गुणा बढी प्रभावकारी बनाउँछ।

पहिलो चरणमा गरिएको परीक्षणमा सकारात्मक नतिजा आएको वैज्ञानिकहरूले बताएका छन्। २८ जनामा गरिएको परीक्षणमा अहिलेसम्म सकारात्मक एवं आशलाग्दो नतिजा आएको रिपोर्टमा उल्लेख छ। पूरानो उपचार पद्धतिभन्दा यार्सागुम्बाको प्रयोगमा गरिएको केमोथेरापीले बिरामीको शरीरमा स्थिर र खतरारहित एन्टी–क्यान्सर गतिविधि देखाएको ‘अमेरिकन एसोसिएसन फर क्यान्सर रिसर्च’मा प्रकाशित रिपोर्टमा उल्लेख छ।

‘यस परीक्षणबाट प्राप्त नतिजाले ‘एनयूसी–७७३८’ क्यान्सर प्रतिरोधी प्रक्रियालाई सक्रिय बनाउँदै क्यान्सरको निदानमा प्रयोग गर्न सकिने अझ प्रभावकारी उपचार पद्धतिका रूपमा सफल सावित हुन्छ। यद्यपि, आगामी चरणका परीक्षणपछि मात्र यसको सार्वजनिक प्रयोगका विषयमा ठोस राय पेश गर्न सकिनेछ,’ रिपोर्टमा उल्लेख छ।

हाल खोजकर्ताहरूले दोस्रो चरणको प्रयोग गर्ने तयारी गरिरहेका छन्। दोस्रो चरणका बिरामीहरूमा पनि परीक्षण सफल भएमा मात्र यसबारे ठोस जानकारी प्राप्त हुनेछ। भर्खर पहिलो चरणको परीक्षण मात्र सम्पन्न भएकाले क्यान्सरको उपचारमा यार्सागुम्बाको प्रयोग सुरु हुनका लागि अझै केही समय भने लाग्नेछ।

(स्रोत : साइन्सअलर्ट, क्लिनिकल क्यान्सर रिसर्च तथा अमेरिकन एसोसिएसन फर क्यान्सर रिसर्च)


ताजा खबर