काठमाडौँमा पाँच महिनाभित्र एक अर्ब राजस्व सङ्कलन

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पाँच महिनामा एक अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

साउनदेखि मङ्सिरसम्म एक अर्ब ६४ लाख २६ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । गत वर्ष सो अवधिमा ७१ करोड १० लाख ३९ हजार रुपियाँ सङ्कलन गरेको थियो । गत आवको तुलनमा २९ करोड रुपियाँ राजस्व सङ्कलन बढी हो । चालु आवमा १० अर्ब ८१ करोड रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य महानगरको रहेको छ ।

महानगरले पाँच महिनामा सम्पत्ति बहाल तथा पट्टाबापत ६४ करोड ६७ लाख ५४ हजार रुपियाँ सङ्कलन गरेको छ । यस्तै भूमिकर/मालपोत करबापत १६ करोड ४४ लाख, पर्यटन शुल्कबापत १४ करोड ५२ लाख, सम्पत्ति करबापत ७८ लाख रुपियाँ राजस्व सङ्कलन भएको महानगरले जनाएको छ । अन्य सेवा शुल्कबापत २७ करोड ४७ लाख, नक्सा पास दस्तुरबापत ३९ करोड ५८ लाख, व्यवसाय रजिस्ट्रेसन दस्तुरबापत ३६ करोड ३६ लाख, प्रशासनिक दण्ड जरिबाना र जफत २३ लाख ५७ हजार रुपियाँ सङ्कलन भएको छ । पार्किङ शुल्कबापत ४८ लाख ४१ हजार, सिफारिस दस्तुरबापत ७२ लाख ८६ हजार र शिक्षा क्षेत्रको आम्दानी १२ लाख रुपियाँ सङ्कलन भएको छ ।

मूल्य अभिवृद्धि दरबापत ५३ लाख ७१ हजार, बाँडफाँट भई प्राप्त हुने अन्तःशुल्क १३ करोड ३९ लाख, सवारीसाधन करबापत ६६ करोड ८६ लाख र बाँडफाँटबाट प्राप्त राजस्व आठ करोड ५६ लाख रुपियाँ सङ्कलन भएको महानगरले जनाएको छ । गत आवमा महानगरले २०७९/८० मा १० अर्ब २५ करोड ४१ लाख रुपियाँ राजस्व सङ्कलन गरेको थियो । रासस


ताजा खबर