नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सरकारका कामको समीक्षा गर्ने भएको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहीबारदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा बस्दैछ ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले एक वर्षे कार्यकालका विषयमा समीक्षा गर्ने प्रमुख प्रस्ताव छ । पार्टीको महासमिति बैठकको तयारी, राष्ट्रिय सभा सदस्य निर्वाचन र समसामयिक राजनीतिक विषयहरूमा समेत छलफल हुने बैठकमा सरकारको एक वर्षे कार्यकालको विशेषरुपमा समीक्षा गरिने कांग्रेसले जनाएको छ ।

केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले बैठकमा सरकारको एक वर्षे कार्यकालको समीक्षा हुने बताए । ‘अहिले नेपाली कांग्रेस पनि सरकारमा छ । तर सरकारको नेतृत्व पुष्पकमल दाहालले गर्नुभएको छ ।

हामी सरकारमा गएको एक वर्ष भइसकेको छैन, तर सरकार गठन भएको एक वर्ष भइसकेको छ,’ उनले भने, ‘सरकारको त्यही एक वर्षे कार्यकाल र त्यसमा कांग्रेसका तर्फबाट सरकारमा सहभागी हुनुभएका मन्त्रीहरूले गरिरहेका कामका विषयमा हामी बैठकमा समीक्षा गर्दैछौँ ।’

वर्तमान सरकारमा कांग्रेसबाट उपसभापतिद्धयसहित ९ जना नेताहरू मन्त्री छन् । बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीका तर्फबाट मन्त्री बनेकाहरूलाई कामको फेहरिस्त माग गर्ने र प्रश्नोत्तर श्रृंखलासमेत राखिएको कांग्रेसले जनाएको छ ।

बैठकका एजेण्डा तय गर्न बुधबार धुम्बाराहीस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको शीर्ष पदाधिकारीहरूको बैठकले सभापति देउवाले एजेण्डा र पार्टीले गर्नैपर्ने निर्णयहरूका विषयमा छलफल गरेका थिए । छलफलमा महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा प्रचार विभाग प्रमुख विश्वकर्मा सहभागी थिए ।

नेताहरूका अनुसार मन्त्रीहरूलाई बिहीबार विहानसम्म आफ्नो रिपोर्ट कार्ड केन्द्रीय कार्यालयमा बुझाउन भनिएको छ । त्यस्तो प्रगति विवरण बैठकमा प्रस्तुत गरिने र त्यसमाथि केन्द्रीय सदस्यहरूले प्रश्न गर्ने तथा मन्त्रीले जवाफ दिने कार्यक्रमसमेत राखिएको छ ।

प्रधानमन्त्री दाहालले मन्त्रीहरू हेरफेर गर्नुपर्ने प्रस्ताव राखिरहेका बेला कांग्रेसभित्रै पनि पालो पु¥याउन मन्त्रीहरूको हेरफेर गर्नुपर्ने विषय उठिसकेको छ । तर सभापति देउवाले अहिले नै मन्त्रीहरू हेरफेर नगर्ने अडान लिएका छन् ।

कांग्रेसबाट मन्त्रीहरू सरकारमा सहभागी भएको आगामी चैत्र १७ गतेमात्रै एक वर्ष पूरा हुन्छ । सभापति देउवाले त्यतिञ्जेल मन्त्री हेरफेरको विषयमा छलफल नै नगर्ने भन्ने गरेका छन् ।
बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवार चयन गर्दा अपनाउनुपर्ने मापदण्डबारे समेत निर्णय गर्नुपर्ने नेताहरूले बताइरहेका छन् ।

‘प्रदेशबाट भएजत्ति सबैको नाम आएको छ । त्यसमा पार्टीका सिनियर नेताहरू, जसले पटक पटक अवसर पाएका छन्, उनीहरूकै नाम अगाडि छ,’ एक केन्द्रीय सदस्यले भने, ‘कस्तो व्यक्ति उम्मेदवार बन्ने हो ? कस्तालाई टिकट दिने हो ? पटक पटक अवसर पाएकालाई हो कि नयाँ मान्छेलाई मौका दिने ? यसबारे पार्टीले प्रष्ट रुपमा मापदण्ड तयार गर्नुपर्छ । बैठकमा त्यो कुरा उठ्छ ।’

त्यस्तै, महासमिति बैठकको तयारीका विषयमा समेत अहिलेसम्मको प्रगतिबारे छलफल हुनेछ । कांग्रेसको महासमिति भेला आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा गर्ने कार्यसूची छ । रासस


ताजा खबर