सैनिक अधिकारीले गल्ती गरे स्वयम् भागीदार हुने

प्रधानसेनापति प्रभुराम शर्माले संस्थाले गरेको विधिसम्मत प्रक्रियाको जिम्मेवारी संस्थाले लिने तर व्यक्तिगत रूपमा भएका गल्तीको भागीदार स्वयम् सैनिक अधिकारी नै हुने बताउनुभएको छ ।

नेपाली सेनाको उच्च अधिकारीको शैक्षिक प्रमाणपत्रबारे प्रश्न उठिरहेको बेला उहाँले व्यक्तिगत गल्तीको जवाफदेहिता स्वयम् अधिकारी रहने बताउनुभएको हो । नेपाली सेनाका कमान्डिङ अफिसर ओरिएन्टेसन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले  व्यक्तित्व विकासका लागि स्वस्थ प्रतिस्पर्धा स्वाभाविक भए पनि अमर्यादित र अस्वस्थ तवरले प्रतिस्पर्धीलाई दोषी देखाएर आफू अगाडि बढ्न सकिन्छ कि भन्ने दुर्भावना नराख्नसमेत सकल दर्जालाई सचेत गराउनुभयो ।

उहाँले सेनामा सरुवा, बढुवालगायत वृत्तिविकाससम्बन्धी गुनासो वा उजुरी गर्ने वैधानिक निकाय रहेको र यसबारे सकल दर्जालाई जानकारी हुँदाहुँदै संस्था बाहिरबाट अमर्यादित क्रियाकलापको प्रयासमा संलग्न नहुन सचेत गराउनुभयो । सेनापति शर्माले कुनै पनि तहको कमान्ड केवल जागिर वा अधिकार मात्र नभएर सेवाभावसाथ अत्यन्त संवेदनशील रूपमा उत्कृष्ट जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो ।

नेपाली सेना मुलुकको संविधान, विधि, पद्धति र उत्कृष्ट परम्पराबाट निर्देशित रहेर दायित्व निर्वाहमा प्रतिबद्ध रहेको बताउँदै उहाँले भन्नुभयो, “व्यक्तिगत स्वार्थबाट प्रेरित भएर संस्थाको हित प्रतिकूलका क्रियाकलापमा संलग्न रहने प्रवृत्ति अन्त्य गर्न प्रतिबद्ध छु ।”  उहाँले असङ्ख्य सिपाहीको रगत, पसिनाको जगमा उभिएको नेपाली सेनालाई संस्थाभित्र वा बाहिर रहेर कमजोर बनाउने एवं आफ्नो निहित स्वार्थसिद्ध गर्ने दुरासयले प्रेरित भई त्यस किसिमको कार्य गर्नेको दुस्प्रयासले नेपाली सेना कमजोर हुने छैन भन्नुभयो ।

प्रधानसेनापतिले आफ्नो र प्रधानमन्त्रीबिचमा गोप्य सम्झौता भएको, विशेष परिस्थितिमा भर्ना भई विशेष ढङ्गले पदोन्नति भएको र निर्धारित योग्यता नपुगेको व्यक्तिलाई प्रधानसेनापति बनाउन भूमिका तयार गरेको, कुनै राजनीतिक दलविशेषलाई खुसी पार्ने गरी काम गरिदिएबापत राजदूतको नियुक्तिमा जान लागेकोजस्ता व्यक्तिगत तथा संस्थागत प्रतिष्ठामा दाग लगाउने कुचेष्टाले भरिएका दुस्प्रचार पूर्णतः गलत रहेको कुरा बताउनुभयो ।

रिक्त रथी दर्जामा पदोन्नति प्रक्रिया सुरु भएसँगै सम्भावित उम्मेदवारको उमेर, शैक्षिक योग्यता आदिलाई विषयवस्तु बनाई अतिरञ्जित तवरले प्रचारबाजी भएको भन्दै उहाँले शैक्षिक प्रमाणपत्र, नागरिकताजस्ता कागजात आवश्यकता अनुसार सम्बद्ध निकायबाट यकिन गरेर मात्र जङ्गी अड्डाले कारबाही अघि बढाउने गरेको उल्लेख गर्नुभयो ।

प्रधानसेनापतिले विगतमा जाँचबुझ गर्ने क्रममा आफ्नो जिम्मेवारीमा परेका केही पदाधिकारीको कागजात शङ्कास्पद देखिएकाले कारबाही गर्न सिफारिस गरेको बताउनुभयो ।  रासस


ताजा खबर