दक्षिण कोरियाले निर्माण र सेवा क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया सरकारले उत्पादनमूलकतर्फ थप दुई क्षेत्रमा नेपाली युवा लैजाने भएको छ ।

यसअघि कृषि र उत्पादनको उद्योग र सिप बिल्डिङतर्फ नेपाली श्रमिक लग्दै आएकामा अबदेखि थप निर्माण र सेवा सर्भिसका क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने भएको हो ।

वैदेशिक रोजगार विभाग इपिएस शाखाका अनुसार दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रको छनोट भाषा परीक्षाको आवेदन अबको एक महिनाभित्र आह्वान गर्ने छ । सो शाखाका निर्देशक गुरुदत्त सुवेदीले दक्षिण कोरियाले रोजगारीका लागि लैजाने नेपाली युवाको सङ्ख्या बढाउँदै लगेको र कोरियाका साना तथा मझौला उत्पादनमूलक क्षेत्रमा थप श्रमिक आवश्यक रहेको जनाउँदै भाषा परीक्षा सञ्चालन गरिने बताउनुभयो ।

दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले हाल कृषि तथा पशुपालन, उत्पादन र सिप बिल्डिङ क्षेत्रमा नेपाली माग गर्दै आएको अब निर्माण र सेवा क्षेत्रमा समेत नेपाली माग गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

यसअघि कोरियाले नेपालबाट कृषि तथा पशुपालनमा मात्र नेपालीलाई माग गर्दै आएकामा केहीअघिदेखि सिप बिल्डिङमा समेत माग गर्न थालेको थियो ।

उत्पादनमूलक क्षेत्रको परीक्षाको आवेदन सन् २०२३ भित्रै खुलेमा यसअघि सिप बिल्डिङमा भाषा परीक्षामा सामेल भएकाले आवेदन भने दिन पाउने छैनन् । उत्पादनमूलक क्षेत्रका लागि छनोट कोटा कति हुने भन्नेबारे खुलाइएको छैन । इपिएसमार्फत दक्षिण कोरियाले निर्धारण गरेका रोजगारी क्षेत्रमध्ये उत्पादनमूलक क्षेत्रलाई सेवा सुविधाका हिसाबले राम्रो मानिएका कारण यस क्षेत्रमा कडा प्रतिस्पर्धा हुने गरेको छ । हाल उत्पादनमूलक क्षेत्रमा थप नेपाली लैजाने गरी भाषा परीक्षाको तयारी भए पनि कृषि क्षेत्रको भने केही समयपछि आवेदन खुल्ने जनाइएको छ ।

सो शाखाका निर्देशक सुवेदीले कोरियामा श्रमिकको चरम अभाव हुन थालेपछि आफ्ना नागरिक र दक्ष विदेशी श्रमिकका लागि आरक्षण गरिएका सेवा, निर्माण क्षेत्रमा नेपाली युवालाई समेत माग गर्न थालेको जानकारी दिनुभयो ।

कोरियाले सेवा तथा उत्पादन क्षेत्रका विभिन्न उपक्षेत्रमा विदेशी श्रमिकलाई रोजगारी गर्न नपाउने कानुनी व्यवस्थालाई संशोधन गरेर रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गतका श्रमिकले समेत काम गर्न पाउने व्यवस्था गरेको छ । कोरियामा यसअघि ई–९ भिसावाहक विदेशी श्रमिकलाई ‘डी थ्री’ (डर्टी, डिफिकल्ट र डेन्जर) क्षेत्रमा मात्र काम गर्ने अवसर दिँदै आएकामा अब भने सेवा र अन्य क्षेत्रमा समेत काम गर्न पाउने छन् ।

नेपालबाट हाल कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा बर्सेनि १२ हजार श्रमिक रोजगारीका लागि जाने गरेका छन् । आर्थिक वर्ष २०७९/८० मा इपिएसमार्फत लगभग २१ हजार श्रमिक दक्षिण कोरिया गएका थिए । सन् २०२४ का लागि एक लाख ६५ हजार कोटा रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाले सन् २०२४ मा एक लाख ६५ हजार विदेशी श्रमिक माग गर्ने भएको छ ।

ईपिएस अन्तर्गतका नेपालसहित १६ देशका लागि सो कोटा निर्धारण भएको हो । १६ देशमध्ये पनि नेपाली श्रमिक रुचाइएका कारण सो कोटा नेपालले ३० हजार पाउने इपिएस शाखाले जनाएको छ ।

आगामी वर्षका लागि तोकिएका एक लाख ६५ हजार आप्रवासी श्रमिकको सङ्ख्यामध्ये नयाँ नियमितका लागि एक लाख ४३ हजार ५३० जना तोकिएको छ । यस्तै २१ हजार ४६० जना प्रतिबद्ध (कमिटेड श्रमिक) लाई तोकिएको छ ।

निर्धारण गरिएको क्षेत्र अनुसारको कोटामध्ये उत्पादनमूलक क्षेत्रमा ९५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा १६ हजार, सिप बिल्डिङमा पाँच हजार, निर्माण क्षेत्रमा छ हजार, सेवा क्षेत्रमा १३ हजार र अन्य आवश्यक क्षेत्रमा ३० हजार जना तोकिएको इपिएस शाखाले जनाएको छ ।  रासस


ताजा खबर