मुख्य लगानीकर्ताआजियटा एनसेलबाट अलग्गिँदै

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको मुख्य लगानीकर्ता आजियटा समूह यसबाट अलग्गिने भएको छ । पाँच वर्षपछि दूरसञ्चार सेवाको अनुमतिपत्र नवीकरण र त्यसपछि सम्पत्ति व्यवस्थापनको विषयमा अन्योलमा रहेकै बेला उसले अलग्गिने निर्णय गरेको हो ।

विभिन्न देशमा सञ्चालनमा रहेका दूरसञ्चार सेवा प्रदायकको सन् २०२३ को तेस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गर्दै आजियटाले एनसेलबाट बाहिरिने निर्णय उल्लेख गरेको हो ।

मलेसियाको बहुराष्ट्रिय लगानी समूह आजियटा ग्रुप बरहदले एनसेलमा प्रवेश गरेको आठ वर्ष पनि पूरा नहुँदै आफ्नो स्वामित्व बिक्री गर्ने निर्णय सार्वजनिक गरेको हो । त्यसअघि युरोपेली समूह टेलियासोनेराको स्वामित्वमा रहेको एनसेलको ८० प्रतिशत स्वामित्व आजियटा समूहले खरिद गरेको थियो । समूहले अब त्यही ८० प्रतिशत स्वामित्व बिक्री गरेर एनसेलबाट बाहिरिने निर्णय गरेको हो ।

आफ्नो वित्तीय विवरणमा आजियटाले एनसेलबाट प्राप्त हुने आम्दानी आठ प्रतिशतले घटेको उल्लेख गरेको छ । न्यून आन्तरिक अन्तरआबद्धता शुल्कका कारण आम्दानी घट्न पुगेको समूहको निष्कर्ष छ । वित्तीय अवस्थामा पनि सुधार हुन नसकेको र दूरसञ्चार सेवाप्रदायकको अनुमतिपत्र नवीकरणमा पनि सुनिश्चितता पाउन नसकेको अवस्थामा आजियटाले यस्तो निर्णय बाहिर ल्याएको हो । समूहका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले नेपालमा परिस्थिति चुनौतीपूर्ण बन्दै गएकाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने निर्णय गरेको उल्लेख गर्नुभएको छ । यस्तो निर्णयले रणनीतिक प्राथमिकता अनुसार सेवा प्रदान गर्न आजियटालाई थप बलियो अवस्थामा पु¥याउने पनि उहाँको भनाइ छ । त्यस्तै सेयर स्वामित्वकर्ताको दीर्घकालीन हितका लागि पनि यो निर्णय गरिएको उहाँले बताउनुभएको छ ।

एनसेलमा हाल आजियटा समूहको ८० प्रतिशत र स्थानीय साझेदारको २० प्रतिशत स्वामित्व रहेको छ । २०७२ पुसमा यसअघिको स्वामित्वकर्ता टेलियासोनेराले आफ्नो ६०.४ प्रतिशत स्वामित्व आजियटा समूहलाई एक अर्ब तीन करोड डलरमा बिक्री गर्ने निर्णय गरेको थियो ।

हाल नेपालको एक मात्र निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायकका रूपमा रहेको एनसेलका करिब एक करोड ३० लाख सिमकार्ड प्रयोगकर्ता छन् । यसअघि आजियटा समूहले नै एनसेलको सेयरको प्राथमिक निष्कासन (आइपिओ) गर्ने भन्दै कम्पनीलाई पब्लिक लिमिटेडमा रूपान्तरण गरेको थियो ।


ताजा खबर