जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सवको तयारी शुरु

जनकपुरधाममा मनाइँदै आएको विवाहपञ्चमी महोत्सवको तयारी शुरु भएको छ । मङ्सिर २६ गतेबाट सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरेर भव्य रुपमा मनाउने निर्णय भएपछि अहिले यसको तयारी शुरु भएको छ ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव मङ्सिर २६ गतेबाट नगरदर्शनवाट शुरु हुने भएको छ । २७ गते फूदवारी लिला, २८ गते धनुषयज्ञ, २९ गते तिलकोत्सव, ३० गते मटकोर, १ गते स्वयंम्बर तथा विवाह उत्सव तथा २ गते रामकलेवा गर्ने कार्यक्रम रहेको छ ।

विगतका वर्षमा मधेश प्रदेश सरकारले बजेट विनियोजन गरेपनि यस पटक नछुट्याएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण विवाहपञ्चमी महोत्सव मूल समितिले गरेको छ । गत वर्ष प्रदेश सरकारले विवाह पञ्चमीका लागि १० लाख बजेट विनियोजन गरेका थिए ।

जनकपुरधाममा आयोजना हुने महोत्सव मध्ये सबैभन्दा ठूलो महोत्सवको रुपमा श्रीसीताराम विवाहपञ्चमी महोत्सव रहेको छ । भगवान् रामसँग माता जानकीको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मङ्सिर शुक्लपक्ष पञ्चमी तिथिका दिन विवाहपञ्चमी महोत्सव मनाउने चलन रहेको छ ।

श्रीसीताराम विवाहपञ्चमी महोत्सवमा सहभागी हुनका लागि नेपाल भारतबाट ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजनहरू सहभागी हुनका लागि आउने गरेका छन् । विवाह पञ्चमीलाई व्यवस्थित बनाउनका लागि जानकी मन्दिरका मूल महन्थ रामतपेश्वर दास वैष्णवको अध्यक्षतामा मूल समितिको निर्माण भएको छ । यसका साथै विभिन्न उपसमितिहरू निर्माण भएको छ ।

यसै बीच श्रीसीताराम विवाहपञ्चमी महोत्सवको तीर्थयात्रीहरूको अत्यधिक भिड हुने जनकपुरधामको ऐतिहासिक बाह्र विघा रंगभूमि मैदानको जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले स्थलगत रुपमा अनुगमन गर्नु भएको छ ।

जनकपुरधामको मुटुमा रहेको ऐतिहासिक बाह्र विघा रङ्ग भूमि मैदानमा विभिन्न धार्मिक अनुष्ठानका साथै तीर्थयात्रीहरू अत्यधिक मात्रामा बास बस्ने गरेका कारणले अनुगमन गरेको छ ।   रासस


ताजा खबर