विश्वकप एसिया छनोटमा आज नेपाल र मलेसिया भिड्ने

आइसिसी टी-२० विश्वकप एसिया छनोट अन्तरगत फाइनलको दोस्रो खेलमा नेपालले आज मलेसिया विरुद्ध खेल्दैछ । समुह एको यो खेल दिउसो साढे १ बजे किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ ।

लगातार दोस्रो जितको खोजीमा रहेको नेपाल आजको खेलमा जित निकाले सेमिफाइनल नजिक पुग्नेछ । आजै कीर्तिपुरमा हुने पहिलो खेलमा सिंगापुर र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै, मूलपानी क्रिकेट मैदानमा हुने पहिलो खेलमा बहराइन र हङकङबीच प्रतिस्पर्धा हुनेछ । मूलपानीको दोस्रो खेलमा कुवेत र युनाइटेड अरब इमिरेट्स यूएई भिड्नेछन् ।

यसअघि हिजो भएको पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित दर्ता गरेको हो । सिंगापुरले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा १६ दशमलव ३ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ९ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।

सिंगापुर विरुद्ध नेपालका अविनास बोहराले ३ र संदिप लामिछाने, गुलसन झा र करण केसीले समान २-२ विकेट लिए । यसैगरी अर्को खेलमा मलेसियालाई ३२ रनले हराउदै ओमान विजय हुदा समूह बी मा बहराइनलाइ युएइ ५ विकेटले हरायो ।

फाइनलको विजेता र उपविजेता विश्वकप खेल्न छनोट हुनेछन् । आइसिसी टि-२० विश्वकप सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुदैछ । रासस


ताजा खबर