लण्डनमा नेपालमा लगानी र व्यापारका अवसर बारे सम्मेलन

लण्डनस्थित नेपाली दूतावासले मङ्गलबार नेपालमा लगानी र व्यापारका अवसर विषयक उच्चस्तरीय सम्मेलन आयोजना गर्दैछ ।

नेपालमा अपार सम्भावना भएको नवीकरणीय उर्जा र सूचना प्रविधिको क्षेत्रमा गर्न सकिने लगानीबारे प्रस्तूति दिन नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतसहित निजी क्षेत्रको प्रतिनिधिमण्डल शनिबार लण्डन आइपुगेको छ ।

लण्डनस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य नेपाल र बेलायतको व्यापारको सम्बन्धलाई विविधिकरण र सुदृढीकरण गर्ने क्रममा यो सम्मेलन फलदायी हुने बताउनुभयो । राजदूत आचार्यले भन्नुभयो, “आयातमा बढी निर्भर भएको हामीले निर्यात बढाउन र आर्थिक संरचनाको परिवर्तन गर्न लगानीले ठूलो सहयोग गर्छ । हाम्रो आन्तरिक लगानी अपुग रहेको अवस्था छ । हाम्रो सीमित स्रोत साधनका कारणले हामीलाई ठूलो आर्थिक आवश्यकता छ ।”

अन्तर्राष्ट्रिय दिगो विकास लक्ष्यको उपलब्धी हासिल गर्न चाहिने लगानी र सम्भावना भएका क्षेत्रको विकास गर्ने दृष्टिकोणका हिसाबले नेपालमा लगानीको आवश्यकता छ । त्यहीक्रममा हामीले बेलायतमा लगानीको कार्यक्रम गर्न खोजेको हो ।

बेलायतबाट नेपालमा लगानी जान सक्ने सम्भावना औल्याउँदै उहाँले भन्नुभयो, ‘हामीले खोजेको ठूलो लगानीको स्रोत जलविद्युत वा क्लिन इनर्जी र सूचना प्रविधिको क्षेत्र हो । यसबाहेक पर्यटन, पूर्वाधार र शिक्षा लगायतका क्षेत्र पनि छन् ।’

पछिल्लो समय नेपाल र बेलायतको द्विपक्षीय व्यापारिक सम्बन्धलाई हेर्दा सूचना प्रविधि एउटा सम्भावना भएको क्षेत्र हो । गत वर्षमात्र सूचना प्रविधि क्षेत्रमा ३५ मिलियन पाउण्ड नेपालले निर्यात गरेको देखिन्छ । यो अमेरिका, यूरोपलगायत अन्य राष्ट्रमा पनि बढेको छ ।

सन् २०२१ मा बेलायतको ग्लास्गोमा सम्पन्न कोप २६ पछि बेलायतले संसारभरि हरित उर्जाको विकासमा विशेष जोड दिइ लगानी बढाइरहेको छ । यसबाहेक द्विपक्षीय विकास सहायता, जलवायु परिवर्तन, जैविक विविधतासँग सम्बन्धित क्षेत्रमा काम गरिरहेको छ ।

यस परिप्रेक्ष्यमा बेलायत संसारमै निजी क्षेत्रका लागि ठूलो लगानीकर्ता रहेको देखिन्छ । राजदूत आचार्यले भन्नुभयो, ‘समयक्रमसँगै नेपालले जलविद्युत क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ । भारतसँग भएको उर्जा व्यापार, बङ्गलादेश, भारत नेपालबीच हुन लागेका व्यापारको उद्देश्य र भारतमा १० हजार मेगावाट निर्यात गर्ने भन्ने कुरा छ ।’

विभिन्न किसिमको लगानीको स्रोतलाई हामीले प्रयोग गर्नसके हाम्रो आंकक्षा पूरा हुन्छ । यसले दुवै पक्षलाई फाइदा पनि हुन्छ । यतिबेला आन्तरिक माग मात्र होइन, बाह्य माग पनि ठूलो छ । जसले जलविद्युतको बजारलाई ठूलो बनाएको छ ।

दूतावासले बेलायतको सरकार र यहाँको निजी क्षेत्रसँग कुरा गरेर सिटी अफ लण्डनमा कार्यक्रम आयोजना गर्दैछ । सिटी अफ लण्डन कर्पोरेशन यहाँ रहेका अन्तर्राष्ट्रिय बैकिङ्ग क्षेत्रलाई सुपरिवेक्षण गर्ने सिटीको संस्था हो । उनीहरुसँग पनि सहकार्य गरेर नेपालले आफुले सम्भावना भएका क्षेत्रको विकास र लगानीका बारेमा प्रवर्धन गर्न सक्ने उहाँको भनाइ छ ।

सम्मेलन बेलायत सरकार, लण्डन चेम्बर अफ कमर्श, ब्रिटीश इन्टरनेशनल इन्भेष्टमेन्ट लगायतसँग मिलेर आयोजना हुँदैछ । सम्मेलनमा नेपाल र बेलायतका लगानीकर्ताहरुले आप्mना अनुभव आदानप्रदान गर्ने बताइएको छ । रासस


ताजा खबर