आज बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमा मनाइँदै

दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदै छ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दशैँ पर्व समापन हुन्छ। शास्त्र अनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम भने शुक्रबार नै समापन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि शुक्रबार नै समाप्त भएको हो। शुक्रबार नै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइएको छ। लोकव्यवहारमा भने कोजाग्रत पूर्णिमाका दिनसम्म नै नवदुर्गाको प्रसाद लगाएर आशीर्वाद थाप्ने गरिन्छ।

आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिंडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन शुरु गरिएको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए। दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ।

नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ। लक्ष्मीपूजाको १५ दिन अघि महालक्ष्मीको पूजा, आराधना गरिने भएकाले यस पर्वको विशेष महत्त्व छ। (रासस)


ताजा खबर