२०७९ सालको जगदम्बा-श्री र मदन पुरस्कार अर्पण

मदन पुरस्कार गुठीले २०७९ सालको जगदम्बा-श्री सम्मान र मदन पुरस्कार अर्पण गरेको छ।

पाटनमा सोमबार आयोजित विशेष समारोहमा कलाकार टेकवीर मुखियालाई जगदम्बा-श्री र ऐंठन पुस्तकका लागि विवेक ओझालाई मदन पुरस्कार अर्पण गरिएको हो। गुठीका अध्यक्ष कुन्द दीक्षितले स्रष्टाद्वयलाई प्रमाणपत्र र पुरस्कार राशि अर्पण गरेका छन्। दुवै पुरस्कारको राशि समान चार लाख रुपैयाँ छ।

madan puraskar_1.jpg
कलाकार टेकवीर मुखियालाई जगदम्बा-श्री सम्मान अर्पण गर्दै मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षित।

कलाकार मुखियाले अक्षरलाई कलाको आवरण मार्फत पाठकसँग जोड्न तथा स्रष्टालाई मुहारचित्र मार्फत साहित्यानुरागीमाझ पुर्‍याउन महत्त्वपूर्ण योगदान दिएकाले जगदम्बा-श्री सम्मान अर्पण गरिएको हो। उनले लामो समय साझा प्रकाशनमा आबद्ध भएर पुस्तकका कभर डिजाइन गरेका थिए। उनी ६ दशकदेखि कला क्षेत्रमा सक्रिय छन्।

madan puraskar_3.jpg
लेखक विवेक ओझालाई मदन पुरस्कार अर्पण गर्दै मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षित।

त्यस्तै, विगतमा नेपाल राष्ट्र एवं नेपाली समाजले बेहोरेको द्वन्द्वको दुःस्वप्‍न र अहिले पनि त्यस दुःस्वप्‍नले ऐंठनको पीडामा डुबाइरहेको यथार्थलाई स्वप्नलेखनको प्रविधि पनि मिसाई उत्कृष्ट औपन्यासिक कलाको उपयोगद्वारा नवीन किसिमले व्यक्त गरेकाले ओझालाई मदन पुरस्कार अर्पण गरिएको गुठीले जनाएको छ। मदन पुरस्कारका लागि ३१३ पुस्तक प्राप्त भएका थिए।

madan puraskar_2080.jpg

नेपाल तथा नेपाल बाहिरबाट नेपाली भाषामा प्रकाशित पुस्तकमध्ये एक पुस्तकलाई मदन पुरस्कार तथा विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई जगदम्बा-श्री सम्मान अर्पण गरिन्छ। मदन पुरस्कार २०१३ सालदेखि र जगदम्बा-श्री २०४५ बाट प्रदान गर्न थालिएको हो।


ताजा खबर