बडा दशैँ २०८० को शुभकामना

शोभा सिलवाल / पाण्डेय

८० सालको बडा दशैँ घुम्दै फिर्दै आयो
साना ठुला सबइमा हर्षोल्लास छायो  ।
देवीमाको आशीर्वाद सदा हाम्लाई मिलोस्
राक्षसी ती बानीबाट मुक्ति  हाम्लाई मिलोस् ।
दुःख जति पाहुना बनून् सुख सदा आओस्
सत्कर्मले लक्ष्य जति सबका पूरा होओस् ।
नयनबाट हर्षाश्रुका झरना नै झरुन्
खुला आँखा देख्या सपना विपना नै बनून् ।
दीनदुःखीको सेवा गर्न सदा हात उठोस्
व्यक्तिभन्दा समाज ,देशको विकास गर्न जुटोस् ।
महङ्गी र अशिक्षाले डाँडै काटी जाओस्
भ्रष्टाचार ,ढिलासुस्ती सरिता मै बगोस् ।
चारैतिर फूल फुलोस् शान्ति  भाइचाराको
भवानीले सुरु गरून् स्वर्णयुग् नेपालको ।
नेपाल र नेपालीमा सदा खुसी छाओस्
प्रगति र समृद्धिले शिखर चुम्दै जाओस् ।
रोग ,रीपू,ऋण सबै हटी जाऊन् हाम्रो
नवदुर्गा भवानीले सबको गरून् रामो ।
आँट्याताक्या पूरा होओस् सद्भावना मेरो
यस वर्षको बडा दशैँ शुभकामना मेरो ,
शुभकामना मेरो ।

ताजा खबर