प्रधान सेनापति शर्मा र बेलायतका सेनाध्यक्ष स्यान्ड्रसबिच भेटवार्ता

संयुक्त अधिराज्य (बेलायत) भ्रमणमा रहनु भएका नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा र बेलायतका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्ड्रसबीच लण्डनस्थित सैनिक मुख्यालयमा शिष्टाचार भेट र छलफल भएको छ ।

भेटका क्रममा दुई देशका सेना प्रमुखबिच द्विपक्षीय सैनिक सम्बन्ध तथा सहयोगका क्षेत्रमा विकास र विस्तार गर्ने बारेमा छलफल भएको थियो । सो क्रममा बेलायती सेनाका सेनाध्यक्ष स्यान्ड्रसबाट नेपाली सेनाको पेसागत क्षमताको अभिवृद्धि, विकास तथा विस्तारमा सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

छलफलमा सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी सन्तोष ढकाल, सैनिक सहचारीहरू सहायक रथी रत्नबहादुर गोदार र कर्नेल पल स्मिथ पनि सहभागी हुनुहुन्थ्यो ।

यसैगरी, प्रधान सेनापति शर्माले बेलायतस्थित रोयल कलेज अफ डिफेन्स स्टडिजको समेत भ्रमण गर्नुभयो । सो क्रममा कलेजका कमानडेन्ट लेफ्टिनेन्ट जनरल (अवकाश)  सर जर्ज नर्टनले स्वागत गर्नु हुँदै कलेजको शैक्षिक अध्यापन र बहु आयामिक पक्षबारे जानकारी गराउनु भएको थियो ।

यस कलेजमा नेपाली सेनाका अधिकृत लामो समयदेखि निरन्तररुपमा सहभागी हुँदै आएका छन् । नेपाली सेनाका अधिकृतहरू बेलायतमा तथा त्यहाँका सेनाका अधिकृत पनि तालिम प्रशिक्षणका लागि नेपाल आउने अभ्यास रहेको छ ।

प्रधान सेनापति शर्माको सम्मानमा लण्डनस्थित नेपाली राजदूतावासमा एक कार्यक्रम आयोजना गरिएको थियो । सो क्रममा नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायत र नेपालबिचको द्विपक्षीय आर्थिक, सामाजिक र सैनिक सम्बन्धको विकास र विस्तारमा नेपाली सेनाको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भयो ।

नेपाली सेनाबाट विश्व शान्ति स्थापना, दैवी प्रकोप व्यवस्थापन, विकास निर्माणलगायतका क्षेत्रमा स्वदेश र विदेशमा पुराएको योगदानका बारेमा पनि उहाँले चर्चा गर्नुभयो ।

सो क्रममा प्रधान सेनापति शर्माले नेपाली राजदूतावासमा सैनिक सहचारीको रूपमा कार्यरत महासेनानी रत्नबहादुर गोदारलाई सहायक रथी दर्जाको दर्ज्यानी चिन्हसमेत प्रदान गर्नुभएको थियो ।


ताजा खबर