इजरायलमा निधन भएकाको सम्मानमा भोलि राष्ट्रिय शोक

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले इजरायलमा भएको अकल्पनीय घटनामा दिवङ्गत नेपालीहरूप्रति सम्मानका लागि भोलि मङ्गलवार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

राष्ट्रिय शोकको घोषणा गर्दै देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनुभयो ।

यस्तै सरकारले हमासको आक्रमणमा परी ज्यान गुमाएकाहरुको परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको पनि मन्त्री शर्माले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले इजरायलका द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपालीहरू जो देश फर्किन चाहन्छन् तीनलाई नेपाल यथाशीघ्र ल्याउने गरी काम गर्ने र सो अनुसार सम्वद्ध निकायहरूलाई कामका लागि निर्देशन समेत दिइएको मन्त्री शर्माले बताउनुभयो ।

यस्तै परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी मृतक नेपालीहरूको शव यथाशीघ्र स्वेदश ल्याउन पहल गर्ने र नेपाल फर्किन चाहने नेपालीहरूलाई नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स चार्टर्ड गरी ल्याउन प्रबन्ध मिलाउन इजरायलस्थित नेपाली दूतावासले विवरण सङ्कलन गरी परराष्ट्र मन्त्रालयसँग समन्वय गरी काम गर्ने निर्णय पनि भएको मन्त्री शर्माले जानकारी दिनुभयो । रासस


ताजा खबर