राष्ट्र संघका महासचिवसंग प्रधानमन्त्री दाहालको भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससंग भेटवार्ता गर्नुभएको छ ।

भेटमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, दीगो विकास लक्ष तथा अति कम विकसित देशहरूको आर्थिक विकास लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार भेटमा नेपाल र संयुक्त राष्ट्रसंघ बीचको आपसी हितको आदानप्रदान, सम्बन्ध र सहकार्यका लागि राम्रो समझदारी बनेको छ ।

राष्ट्रसंघको मुख्यालयमा प्रधानमन्त्री दहाल र महासचिब गुटेरेस बिच भेटवार्ता भएको छ । राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल आईतबार अमेरिकाको न्यूयोर्क आइपुग्नुभएको थियो ।

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको महासभालाई असोज ४ गते सम्बोधन गर्ने कार्यतालिका रहेको छ । यसपटकको महासभामा प्रधानमन्त्रीले ‘विश्व समुदायको विश्वास पुन: जागृत गर्ने तथा शान्ति, समृद्धि र सबै दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे’ सम्बोधन गर्नुहुनेछ ।

न्युयोर्कमा रहँदा उहाँले संयुक्त राष्ट्रसङ्घको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ ।

महासभाकै क्रममा प्रधानमन्त्री दाहालले विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँग ‘साइडलाइन’ भेटघाट गर्नु हुनेछ । राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुहुने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुनुहुनेछ ।

तस्बिर: प्रदीपराज वन्त, न्युयोर्क, अमेरिका


ताजा खबर