थाई एयरवेजले पुनः बैङ्कक-काठमाडौँ उडान गर्ने

थाई एयरवेजले बैङ्कक–काठमाडौँ उडान पुनः सुरु गर्ने भएको छ । सन् १९६८ डिसेम्बर ४ मा नेपालमा पहिलो पटक जेट इन्जिन जहाजमार्फत उडान भरेको थाई एयरवेजले कोरोना महामारीका कारण बैङ्कक–काठमाडौँ नियमित उडान बन्द गरेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार थाई एयरवेजले कात्तिक १५ देखि नेपालमा पुनः उडान सुरु गर्न लागेको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “नेपालको अन्तर्राष्ट्रिय हवाई उडानमा लामो इतिहास भएको थाई एयरवेजले फेरि काठमाडौँ उडान सुरु गर्न लागेको छ । काठमाडौँमा उडानका लागि आवश्यक प्रक्रिया पूरा गरिसकेको र थाई एयरवेज पुनः नेपाल भित्रिएसँगै हाल नेपालमा उडान गर्दै आएको थाई स्माइल एयरको उडान बन्द हुने छ ।”

थाई एयरवेज र थाई स्माइल एकआपसमा गाभिएका कारण थाई एयरवेज भित्रिएपछि थाई स्माइलको नेपाल उडान बन्द हुने उहाँले बताउनुभयो ।

थाई एयरवेजले काठमाडौँ उडानका लागि सोसाइटी इन्टरनेसनल ट्राभल्स सर्भिसलाई नेपालका लागि जिएसए नियुक्त गरेको उहाँले जानकारी दिनुभयो । हाल काठमाडौँमा उडान गर्दै आएको थाई स्माइलको जिएसए पनि सोसाइटी नै रहेको छ । सोसाइटीले थाई एयरवेजको बुकिङदेखि बजारीकरणसम्मको सबै काम गर्ने गरी सम्झौता गरेको छ ।

थाई एयरवेजले अन्तिम पटक सन् २०२० को मार्च २१ मा नेपालमा उडान भरेको थियो ।  रासस


ताजा खबर