चीन सरकारको ‘जीवन्त गाउँ नमूना परियोजना’ सिन्धुपाल्चोकबाट सुरु

चीन सरकारले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा न ४ लाई ‘जीवन्त’ गाउँको रुपमा विकास गर्ने भएको छ ।

दक्षिण एशियाली मुलुकहरू गरिबी निवारण तथा विकास सहयोग केन्द्रको ‘जीवन्त गाउँ नमूना परियोजना’को मंगलबार एक समारोहबिच निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ दूतावासका आर्थिक तथा वाणिज्य कन्सुलर सियूले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

सो अवसरमा निवर्तमान सभामुख सापकोटाले जीवन्त गाउँ परियोजना मार्फत कुविण्डेलाई नमूना गाउँ बनाउने चिनियाँ परियोजनालाई सबैले सघाउनुपर्ने बताउनुभयो । परियोजनाले कुविण्डे गाउँको मुहार नै फेरिने भन्दै गाउँमा आएको अवसरलाई चुनौतीको रुपमा स्वीकार गर्दै सहयोग र समन्वयमा जुट्न उहाँले आग्रह गर्नुभयो ।

त्यस्तै कन्सुलर सियूले परियोजनालाई दक्षिण एशियाली मुलुकहरूमा सुरु गर्ने लक्ष्य अुनुरुप पहिलोपटक सिन्धुपाल्चोकको कुविण्डेबाट सुरु भएको बताउनुभयो । उहाँले कुविण्डेलाई कृषि र पशुपालनसँगै जोड्दै जीवन्त गाउँ बनाउन चीन सरकारले कुनै कञ्जुस्याँइ नगर्ने बताउनुभयो । परियोजनाले नेपाल र चीनबीचको मित्रता अझ प्रगाढ हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

समारोहमा कृषि तथा ग्रामीण विकास आयोग चीनका निर्देशक लि जिउहोङ, साउथवेष्ट विश्वविद्यालय चीनका लि छुयेङले परियोजनाबाट कुविण्डे जीवन्त गाउँ बन्नका साथै आर्थिक स्तरोन्नतिका लागि परियोजना वरदान सावित हुने बताउनुभयो ।

समारोहमा कन्सुलर सियुले कुविण्डे दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष प्रेम सापकोटालाई दूध प्याकिङ मेशिन हस्तान्तरण गर्नुभयो । साथै निवर्तमान सभामुख सापकोटा र कन्सुलर सियुले संयुक्त रुपमा वडा ४ का ४ सय ३६ जना विद्यार्थीलाई १८ किसिमका शैक्षिक र स्वास्थ्य सामाग्रीसहित विद्यालय झोला वितरण गर्नुभएको थियो । रासस


ताजा खबर