‘हेलो सरकार’, चौबिसै घण्टा सञ्चालनको तयारी

सरकारले ‘हेलो सरकार’लाई चौबिसै घण्टा सञ्चालन गर्ने तयारी गरेको छ ।

जनतालाई सुशासनको अनुभूति दिलाउन र उनीहरूका गुनासो तत्काल सम्बोधन गर्ने उद्देश्यका साथ २०६८ सालदेखि सञ्चालन भएको ‘हेलो सरकार’ अब २४ सै घण्टा सञ्चालन हुने भएको हो ।

सरकारी कार्यालयबाट प्रवाह हुने सेवाहरूमा भोग्नुपरेका समस्या वा सरकार सञ्चालन विधिमा सुझाव प्रस्तुत गर्न चाहेमा सबै प्रकारका जनताका गुनासाको तत्कालै सम्बोधन गर्ने उद्देश्यले २०६८ साल कार्त्तिक १७ गतेदेखि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शासकीय सुधार महाशाखा अन्तर्गत ‘हेलो सरकार’ कक्ष स्थापना गरी सेवा प्रदान गर्न सुरु गरिएको हो ।

सुरुवाती समयमा निकै प्रभावकारी ढङ्गबाट सञ्चालन भएको ‘हेलो सरकार’ पछिल्लो समय सुस्ताउन थालेको र गुनासोको सम्बोधन प्रभावकारी रुपमा अघि बढ्न नसकेको जनगुनासो सुनिन थालेपछि यसलाई थप प्रभावकारी ढङ्गबाट सञ्चालन गर्नका लागि सरकारले हेलो सरकारको विषयमा अध्ययन गर्न समिति नै बनाएको थियो । समितिले एक महिना अध्ययन गरेर नीतिगत, संरचनागत, जनशक्ति, प्राविधिक व्यवस्थापन गरेर हेलो सरकार प्रभावकारी बनाउन सकिने सुझाव दिएसँगै यसको सेवालाई चौबिसै घण्टा सञ्चालनमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिनुभएको थियो । महाशाखाका प्रमुख प्रद्युम्न उपाध्यायको संयोजनमा बनेको अध्ययन समितिले अल्पकालीन र दीर्घकालीन सुझाव प्रस्तुत गरेको र त्यसैका आधारमा ‘हेलो सरकार’को सेवालाई थप प्रभावकारी बनाउन प्रयास गरिएको हो ।

हाल यो सेवा बिहान ७ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुँदै आएकोमा अब चौबिसै घण्टा गुनासो सुन्ने व्यवस्था गर्न लागिएको शासकीय सुधार महाशाखा प्रमुख प्रद्युम्न उपाध्यायले जानकारी दिनुभयो ।

सरकारसँग जनतालाई जोड्न हेलो सरकार प्रभावकारी संयन्त्र भएकाले ‘हेलो सरकार’को गुनासो सुन्न कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) को प्रयोग गरेर प्रभावकारी बनाउने तयारी गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

आगामी दिनमा प्रधानमन्त्रीले समेत ‘हेलो सरकार’मा आएका सम्बन्धित गुनासा सम्बोधनको स्थितिको ब्रिफिङ लिने पनि कार्यालयले जनाएको छ ।

‘हेलो सरकार’मा जुन कार्यालयसँग सम्बन्धित गुनासा आएका छन् त्यसलाई मेसिनले नै रिड गरी सम्बन्धित निकायमा फरवार्ड गर्न सकिने गरी काम अगाडी बढाउने तयारी भएको पनि शासकीय सुधार महाशाखाले जनाएको छ ।

विगतमा गुनासो सुन्ने, टिपोट गर्ने र सम्बन्धित निकायलाई जानकारी गराएर सम्बोधन गर्न निर्देशन दिइन्थ्यो । त्यसपछि कार्यान्वयनको अवस्था के भयो भनेर त्यति ध्यान नदिएको पाइएकोमा अब गुनासो सुनेर सम्बोधन भए नभएको द्रुत रूपमा हेरी सुनुवाइको व्यवस्था गरिने शासकीय सुधार महाशाखाका प्रमुख प्रद्युम्न उपाध्यायले बताउनुभयो ।

उहाँले भन्नु भयो ‘सबै सरकारी कार्यालयमा गुनासो सुन्ने अधिकारीको व्यवस्था गरिएको हुन्छ यदि गुनासो सुन्ने अधिकारी नभएको अवस्थामा कार्यालय प्रमुखले नै गुनासो सुन्ने व्यवस्था छ, सरकारका सबै कार्यालयले जनताका गुनासालाई गम्भीर रुपमा लिनुपर्छ र सम्बन्धित निकायसम्म पुर्‍याएर गुनासो फर्स्यौटमा सहयोग गर्नुपर्छ ।’

अहिले ‘हेलो सरकार’मा सबैभन्दा बढी गुनासो यातायात व्यवस्था कार्यालय, प्रहरी कार्यालय, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल विद्युत् प्राधिकरण, त्रिभुवन विश्वविद्यालय र मालपोत कार्यालयका सेवा प्रवाह र सुविधासँग जोडिएका गुनासो आउने गरेको तथ्याङ्क छ ।

हेलो सरकारको टोल फ्री नम्बर, हेलो सरकारको वेबसाइट, इमेल एड्ड्रेस, फेसबुक, ट्विटर, भाइवर, नागरिक एप लगायतका माध्यमबाट जो कोहीले पनि गुनासो टिपाउन सकिने व्यवस्था गरिएको छ । हेलो सरकारमा हालसम्म पचास हजारभन्दा बढी गुनासो आएकोमा झण्डै ६० प्रतिशत गुनासो फर्स्यौट भएको हेलो सरकारले जनाएको छ । आगामी दिनमा चौबिसै घण्टा सेवा सञ्चालनमा आएपछि यो सेवा थप प्रभावकारी हुने विश्वास गरिएको छ । रासस


ताजा खबर