नुन ल्याउनेलाई कारबाही ,सुन ल्याउनेलाई हुन्न …

~शोभा पाण्डेय/सिलवाल
त्रिभुवन विमानस्थल नेपालकै गौरव
जनतालाई  भने सधैँ बन्छ  क्यारे रौरव ।
नुन ल्याउनेलाई कारबाही ,सुन ल्याउनेलाई हुन्न
एयरपोर्टको सेटअप कस्तो ?ठुलालाई त छुन्न ।
भरियाले दोष पाउँछन् नेपालको कानुन
न्यायमूर्ति नबिकी नै आफ्नो धर्म जानून् ।
अत्याचारी तस्करलाई फाँसी दिए हुनी
सोझासाझा जनतालाई न्याय दिए भो नि ।
हात्ती छिरी पुच्छर अड्की जनता दुःख पाउने
चोर बाटोबाट भने जे गरे नि हुने ।
रोडपति भुजेल केटो अरबपति बन्यो
अपराधीलाई  जोगाउने कस्तो कानुन हो यो?
तेत्तीस के.जी.सुन पचाए ऐले पनि पच्छ
सय के.जी.कसको भागमा कति कति पर्छ?
तस्करको माल पास गर्ने कर्मचारी ठुला
साधारण गल्तीमा नि जनता पुग्छन् जेलाँ ।
तस्करीको मालसामान चोचोमोचो मिलाई
भन्सार पास गराउँछन् सबको आँखा छल्दै ।
क्विन्टल सुन थाह नपाउने मेसिन पनि कस्तो?
एयरपोर्टको व्यवस्थापन साह्रै लाजमर्दो ,साह्रै  लाजमर्दो ।

ताजा खबर