गौरिका सहित चार खेलाडीले वर्ल्ड च्याम्पियनसिप खेल्ने

गौरिका सिंहसहित चार खेलाडीले वर्ल्ड च्याम्पियनसिप खेल्ने भएका छन् ।

जापानको फुकुओका सहरमा आयोजना हुने वर्ल्ड एक्वाटिक च्याम्पियनसिपमा सहभागी हुने नेपाली टिमलाई मङ्गलवार बिदाई गरिएको छ ।

नेपाली पौडी टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय झन्डासहित बिदाई गर्नुभयो । सदस्य सचिव घिसिङले टिमलाई राष्ट्रिय झण्डा प्रदान गर्दै खेलाडीहरूलाई उच्च स्तरको प्रदर्शनका साथ ओलम्पिकमा छनौट हुन सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

ओलम्पिकको छनौट प्रतियोगिता समेत रहेको च्याम्पियनसिपमा गौरिका सिंह, एलेक्जेन्डर गादेगाद शाह, डुवाना लामा र नासिर याह्या हुसेनले प्रतिस्पर्धा गर्नेछन् ।

च्याम्पियनसिपमा २३ तारिख नासिरले ४०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् भने २४ तारिखमा गौरिकाले १०० मिटर ब्याकस्ट्रोक र नासिरले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् ।

२५ तारिख डुवानाले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छिन् । २६ तारिख गौरिकाले ५० मिटर ब्याक स्ट्रोक र एलेक्जेन्डरले १०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् । २७ तारिख डुवानाले १०० मिटर फ्रिस्टायलमा र २८ तारिख एलेक्जेन्डरले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् । टोली बुधबार जापान प्रस्थान गर्ने कार्यक्रम छ । रासस


ताजा खबर