मन्त्री मोदी र मेयर बालेन्द्रवीच भेटवार्ता

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित मन्त्री मोदीको कार्यकक्षमा भएको भेटका क्रममा मन्त्रालय र काठमाडौं महानगरबीचको सहकार्य र समन्वयका सन्दर्भमा कुराकानी भएको मन्त्री मोदीको सचिवालयले जनाएको छ ।

मेयर साहले काठमाडौं महानगरका जग्गा प्राप्ति सम्बन्धी समस्या, फोहरमैला व्यवस्थापनसम्बन्धी देखिएका समस्या र तर्जुमा भइरहेको कानुनका सन्दर्भमा चासो राखेको बुझिएको छ ।

मन्त्री मोदीसँग मेयर साहले काठमाडौं महानगरभित्र सङ्घीय सरकारमार्फत गर्नुपर्ने सहयोग र समन्वयका लागि आग्रह गर्नुभएको थियो । मन्त्री मोदीले आवश्यक छलफल गरेर समस्या समाधानको दिशामा अगाडि बढ्न सकिने बताउनुभएको थियो । मन्त्री मोदीले फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुन निर्माणको क्रममा रहेकाले त्यसमाथि महानगरले आवश्यक सुझाव दिनुपर्ने बताउनुभयो ।

“काठमाडौं महानगरपालिकाका लागि सङ्घीय सरकार र हाम्रो मन्त्रालयमार्फत गर्नुपर्ने समन्वय र सहकार्य गर्न हामी तयार छौँ” मन्त्री मोदीले भन्नुभयो, “तपाईँले अहिले राख्नुभएको समस्यामाथि आवश्यक छलफल गरेर हामी समाधानको दिशामा अगाडि बढ्छौँ ।” रासस


ताजा खबर