मिटरब्याज सम्बन्धि विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित

प्रतिनिधिसभा बैठकबाट “मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित भएको छ । मिटरब्याजी समस्यालाई सम्बोधन गर्ने गरी सरकारले ल्याएको मुलुकी संहिता संशोधन विधेयक सर्वसम्मतले पारित भएको हो ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको “मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्”, भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो विधेयकमा मिटरब्याजसँग सम्बन्धि कानुनी व्यवस्था गरिएको छ । यो विधेयकले अनुचित लेनदेनसँग सम्बन्धि कार्यलाई कसुर कायम गरेको छ ।

मिटरब्याजपीडितको पक्षमा ल्याइएको यो विधेयकमा कसैले लेनदेन नभएको वा नगरेको रकम दिएको भनी लिखत तयार गर्ने, लेनदेन गरेको वास्तविक रकमभन्दा बढीको लिखत तयार गर्ने, ब्याज रकमसमेत साँवामा जोडी लिखत तयार गर्ने, ऋणीले तिरेको रकमको भर्पाई नदिने वा लिखत नबनाउने कार्यलाई कसुर ठहर गरेको छ ।

सरकारले मिटरब्याज पीडतसँगको सहमतिअनुसार गत बैशाख २० मा अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि असार ५ मा विधेयक दर्ता गरिएको थियो ।

राष्ट्रिय सभाबाट असार १० मा उक्त विधेयक पारित भएको थियो । असार १७ मा मात्रै उक्त विधेयक प्रतिनिधिसभामा पेस भएको थियो । असार २० मा संसद् अवरुद्ध भएकाले पारित हुन सकेको थिएन भने अध्यादेशद्वारा गरिएको कानुनी व्यवस्था शून्यतामा गएको थियो । प्रतिनिधिसभाको अर्को बैठक आगामी साउन १० गते दिउँसो १ बजे बस्नेछ । रासस


ताजा खबर