खाना पकाउने ग्याँस, पेट्रोल र डिजेलको मूल्य घट्यो

सरकारले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको नेपाल आयल निगम लिमिटेडले आज राति १२ बजेदेखि लागू हुने गरी स्वचालित प्रणाली सुरु गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

मन्त्रालयका सचिव एवं निगम सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीले आम उपभोक्ताको हितलाई ध्यान दिएर पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गरिएको बताउनुभयो । निगमको आज बसेको सञ्चालक समितिको बैठकको निर्णय सार्वजनिक गर्न आज उद्योग मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव मरासिनीले निगमको यो निर्णयबाट जनता र व्यवसायीलाई सहुलियत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

हवाई इन्धनको हकमा साबिक बमोजिमकै व्यवस्था रहेको छ । अब उप्रान्त इन्डियन आयल कर्पोरेसनबाट प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा प्राप्त हुने नयाँ मूल्य सूचीका आधारमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम हुनेछ । यो निर्णयबाट इन्डियन आयल कर्पोरेसनसँग नियमित रुपमा प्राप्त हुने नयाँ खरिद मूल्यका आधारमा सोही दिन निगमले पनि मूल्य समायोजन गर्ने व्यवस्था कार्यान्वयन हुनेछ ।

सचिव मरासिनीका अनुसार सरकारले खाना पकाउने एलपी ग्यासमा कुनै पनि मुनाफा नराख्ने भएको छ । एलपी ग्यासमा प्रतिसिलिन्डर रु १० मुनाफा थियो । आम उपभोक्तालाई मध्यनजर गरेर हाललाई यो पनि घटाइएको छ ।

घट्यो पेट्रोल र डिजेलको मूल्य
स्वचालित प्रणालीअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु ६ र डिजेलमा प्रतिलिटर रु चार तथा एलपी ग्यासमा प्रतिसिलिन्डर रु १० घटाइएको छ ।

आज राति १२ बजेदेखि कायम हुने गरी एलपी ग्यासको प्रतिसिलिन्डर रु एक हजार आठ सयबाट घटेर रु एक हजार सात सय ९० कायम हुनेछ । हवाई इन्धनको हकमा निगम सञ्चालक समितिले तोकेअनुसार मूल्य लागू हुने विज्ञप्तिमा जनाइएको छ ।

इन्डियन आयल कर्पोरेसनलाई नेपाल आयल निगमले रु ३१ अर्ब बक्यौता रकम भुक्तानी गरेसँगै पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गरिएको हो । निगमले अघिल्लो वर्ष नेपाल सरकारसँग लिएको रु सात अर्ब ऋणमध्ये अब रु तीन अर्ब ५० करोड तिर्न बाँकी रहेको जनाइएको छ । आयल निगमलाई अझै पनि सम्पूर्ण हिसाबले रु २९ अर्ब ऋण दायित्व रहेको छ ।

नेपाल आयल निगमले खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

आइतबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य घटाएको निगमले जनाएको छ। निगमले खाना पकाउने एलपी ग्यास, पेट्रोल र डिजेलको मूल्य घटाएको हो।

खाना पकाउने ग्यासको मूल्य १० रुपैयाँ घटेको छ। अब ग्यासको मूल्य प्रतिसिलन्डिर १७९० रुपैयाँ पर्नेछ।

त्यस्तै, पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटाइएको छ। अब पेट्रोलको मूल्य काठमाडौं उपत्यकामा प्रतिलिटर १६४ रुपैयाँ हुनेछ। त्यस्तै, अन्यत्र भने ठाउँअनुसार, फरकफरक हुनेछ।

यसैगरी, डिजलको मूल्य प्रतिलिटर चार रुपैयाँ घटेको छ। काठमाडौं उपत्यकामा डिजेलको मूल्य प्रतिलिटिर १४६ रुपैयाँ कायम भएको छ।

आयल निगमले अब पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ। भारतबाट मूल्य बढेर आउँदा नेपालमा पनि बढ्ने र भारतबाट घटेर आउँदा नेपालमा पनि घट्ने निमगले जनाएको छ।

रासस


ताजा खबर