एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित

श्रीलङ्कामा जारी एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानको ए टोलीसँग पराजित भएको छ।

कोलम्बो क्रिकेट क्लबको मैदानमा आज भएको खेलमा नेपाल चार विकेटले पराजित भएको हो। नेपालले दिएको एक सय ८० रनको लक्ष्य पाकिस्तान ए ले ३२ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो।

पाकिस्तान ए का लागि तैयव ताहिरले सर्वाधिक ५१ रनको योगदान दिए। त्यस्तै वमिर विन युसुफले ३६ रन बनाए भने कमरान गुलामले ३१ रन बनाए। बलिङतर्फ नेपालका ललित राजवंशीले ३ विकेट लिए भने पवन सर्राफले २ विकेट झारे। त्यस्तै कुशल मल्लले १ विकेट झारे।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३७ ओभरमा सबै विकेट गुमाउँदै एक सय ७९ रनको योगफल बनायो। नेपालका लागि सोमपाल कामीले एक सय १ बलमा ९ चौका र २ छक्काको सहयोगमा ७५ रनको अर्धशतकीय इनिङ खेले।

सोमपालले  प्रतिश जिसीसँग मिलेर ७० बलमा ५८ रनको साझेदारी गरे। यस साझेदारीले नेपाललाई लज्जास्पद योगफल बन्नबाट जोगायो। प्रतिशले २४ बलमा एक चौका र दुई छक्काको सहयोगमा २६ रन बनाए।

पन्ध्र दशमलव ४ ओभरमा ७२ रनमा ८ विकेट गुमाइसकेको नेपालका लागि सोमपाल र प्रतिशको साझेदारीबाट टोली सम्मानजनक योगफल बनाउन सफल भयो। त्यसैगरी अर्जुन साउद तथा कुशल मल्लले समान १७/१७ रन बनाए। गुलशन झाले १९ बलमा एक चौकाको सहयोगमा १३ रन बनाए भने ओपनर आसिफ शेखले १२ रन जोडे। त्यसबाहेक अन्य नेपाली ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

पाकिस्तान ए का लागि शाहनवाज दहानी एक्लैले पाँच विकेट लिए भने मोहम्मद वासिम जुनियरले चार विकेट लिए। त्यस्तै मुबासिर खानले एक विकेट लिए। जितसँगै पाकिस्तान ए टोली समूह बी को शीर्ष स्थानमा उक्लिएको छ। पराजित नेपाल दोस्रो स्थानमा रहेको छ।

नेपालले आफनो दोस्रो खेलमा आगामी साउन १ गते भारत ए सँग खेल्नेछ। प्रतियोगितामा विभिन्न आठ टोली सहभागी छन्। टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा श्रीलङ्का, अफगानिस्तान, बङ्गलादेश र ओमान ए छन् भने समूह बी मा नेपाल, भारत, पाकिस्तान र युएईको ए टोली छ। रासस  


ताजा खबर