कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

चुनावी समीक्षादेखि नीति महाधिवेशनसम्म बैठकका एजेण्डा

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टीको विधान अनुसार प्रत्येक दुई महिनामा केन्द्रीय समितिको बैठक बस्नुपर्ने भएपनि एघार महिनापछि बल्ल औपचारिक बैठक बस्न लागेको हो ।

नेपाली कांग्रेसको विधानले पार्टीले गर्ने हरेक गतिविधिको औपचारिक निर्णय केन्द्रीय समितिको बैठकबाट गर्नुपर्ने व्यवस्था गरेको छ ।

अघिल्लो बर्षको भदौदेखि केन्द्रीय समितिको पूर्ण बैठक बस्न नसक्दा पार्टीले केन्द्रीय समितिको विकल्पमा केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय गर्दै आएको छ ।

पार्टी कार्यालय सानेपामा आज दिउँसो १ बजे शुरु हुने केन्द्रीय समितिको बैठकको तयारीका लागि हिजो सभापति शेरवहादुर देउवा र पार्टिका पदाधिकारीहरुबीच अनौपचारिक छलफल भएको थियो ।

केन्द्रिय समिति बैठक अघि बैठकका एजेण्डा तय गर्न बिहान शीर्ष नेताहरुको बैठक पनि बस्दैछ । यो बैठकले एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।

चुनावी समीक्षादेखि नीति महाधिवेशनसम्म बैठकमा छलफल हुने नेताहरुले बताएका छन् । यस्तै बैठकले केन्द्रिय समितिलाइ पूर्णता दिनेदेखि विभाग गठन र भ्रातृ संगठनको अधिवेशनको विषयलाइ पनि टुंगो लगाउनुपर्ने नेताहरुले बताउदै आएका छन् ।  रासस


ताजा खबर