सेनाको हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

नेपाली सैनिक वार कलेजमा गत चैत १ गतेदेखि सञ्चालन भएको हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम सोमबार  सकिएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले कार्यक्रमको समापन गर्नुहुँदै सफलतापूर्वक तालिम सम्पन्न गर्नुभएकामा सम्पूर्ण शिक्षार्थीहरुलाई बधाई दिनुभयो । उहाँले यस तालिमले शिक्षार्थीहरुलाई थप व्यावसायिक एवं परिष्कृत बनाउनाका साथै अपरेसनल तहको कमान्डर तथा स्टाफको हैसियतले रणनीतिक तहका नेतृत्व वर्गले तय गरेका लक्ष्य तथा उद्देश्यहरु पूरा गर्न र तल्लो तहका कमान्डरहरुलाई उक्त मार्गमा डोर्याउने गहन जिम्मेवारी उत्कृष्ट ढङ्गबाट सम्पन्न गर्न सक्षम तुल्याउने बताउनुभयो ।

प्रधानसेनापति शर्माले शिक्षार्थी अधिकृतहरुले तालिमको दौरान प्राप्त गरेका ज्ञानलाई आगामी दिनहरुमा आफ्नो वृत्तिविकास र संस्थागत हितका लागि सामूहिक भावनाका साथ सदुपयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कलेजका शिक्षाधिकृत उपरथी सहदेव खड्काले तालिमका बारेमा जानकारी गराउनुभएको थियो । महिला एक र पुरुष ३२ गरी ३३ जना महासेनानी दर्जाका शिक्षार्थीहरुको सहभागिता रहेको उक्त तालिममा समग्रमा महासेनानी वसन्तबहादुर गौतम प्रथम हुनुभएको छ ।

त्यस्तै, व्यक्तिगत शोधपत्रतर्फ महासेनानी सुवास केसी र महासेनानी वसन्तबहादुर गौतम प्रथम हुनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम नेपाली सेनामा सैनिक अधिकृतका लागि सञ्चालन हुने सबैभन्दा उच्चस्तरको तालिम हो । विसं २०७१ सालदेखि नेपाली सैनिक वार कलेजमा सञ्चालन हुँदै आएको यस तालिमबाट हालसम्म महिला १० सहित जम्मा तीन सय पाँचजना अधिकृत प्रशिक्षित भइसक्नुभएको छ । रासस


ताजा खबर