फुटबलमा समय थप गर्ने नयाँ नियम

फुटबलमा स्कोर गरेपछि खुसीयाली मनाउँदा केही समय खर्च हुने भएकाले त्यो समय थप गर्ने निर्णय भएको छ । नयाँ नियमअनुसार चोट लागेका खेलाडीको उपचार वा परिवर्तन गर्दा लागेको समय पनि थपिने छ ।

त्यसैगरी समय खेर फालेमा पनि प्रत्येक हाफमा थपिने समयमा त्यो पनि थपिने भएको छ । कार्ड दिएपछि खेल रोकिएको समय, कुलिङ, ब्रेकको समय पनि थपिने छ । त्यसैगरी भीएआरको चेक वा रिभ्युमा लागेको समय पनि थपिने भएको छ । साथै गोल सेलेब्रेसनको समय पनि थपिने छ । कुनै बाह्य कारण खेल रोकिएको खण्डमा त्यो सयम पनि थपिने छ ।

अन्तर्राष्ट्रिय स्तरमा फुटबलको नियम स्थापित गर्ने संस्था इन्टरनेसनल फुटबल एसोसिएसन बोर्ड (आईएफएबी)ले सो निर्णय गरेको हो सन् २०२३÷२४ सिजनका लागि नियम परिमार्जन गर्दै आईएफएबीले सो निर्णय गरेको बताइएको हो ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले खेल सञ्चालनका लागि लागू गर्दै आएको नियम (लज अफ द गेम) आईएफएबीले नै संरक्षण तथा समायोजन गर्दै आएको छ ।

लज अफ द गेमको धारा ७ को उपधारा ३ मा ‘खर्च भएको समय थप गरिने’ शीर्षकमा अब गोल सेलेब्रेसनलाई पनि बेग्लै शीर्षक राखेर समावेश गरिने भएको हो । यसअघि गोल सेलेब्रेसनलाई समय थपको अन्य कारणका रूपमा लिइने गरेको थियो ।

यो नियम सन् २०२३÷२४ सिजनदेखि विश्वभर लागू हुनेछ । अन्तर्राष्ट्रिय क्यालेन्डरअनुसार नयाँ सिजन सुरु भइसकेको छ र अधिकांश ठूला लिगमा ट्रान्सफर बिन्डो पनि खुला छ । रोयटर्स


ताजा खबर