छात्रवृत्ति बारे एनप्याब्सन र हिसानबीच सम्झौता

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) भक्तपुर र उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)बीच छात्रवृत्ति उपलब्ध गराउने विषयमा सहमति भएको छ ।

एनप्याब्सनसँग आबद्धता भएका भक्तपुरका विद्यालयबाट एसइई उत्तीर्ण गर्ने विद्यार्थीलाई कक्षा ११ मा हिसानले ५० प्रतिशत छात्रवृत्ति दिने सहमति भएको हो । यसका लागि हिसान भक्तपुरका अध्यक्ष अनिल कसपाल र एनप्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काबिच सम्झौता भएको छ । आज एनप्याब्सन भक्तपुर र हिसान भक्तपुरबिच छात्रवृत्ति योजना सार्वजनिकीकरण गरी उक्त जानकारी दिइयो ।

हिसान भक्तपुर र निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (प्याब्सन) भक्तपुरबिच पनि हिजो छात्रवृत्ति उपलब्ध गराउने विषयमा सहमति भएको थियो ।

हिसान भक्तपुरमा १२ विद्यालय आबद्ध छन् । सहमति अनुसार विद्यार्थीले भर्ना हुँदा वार्षिक शुल्कमा ५० प्रतिशत छात्रवृत्ति पाउनेछन् । सम्झौतामा एनप्याब्सनमा आबद्ध रहेका विद्यालयका प्रिन्सिपलको सिफारिस, विद्यार्थीको प्राप्त ग्रेड, प्रवेश परीक्षाको नतिजाका आधारमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई हिसान सदस्य विद्यालय एवं कलेजले न्यूनतम ५० प्रतिशत छात्रवृत्ति र थप छुट तथा सहुलियत दिने उल्लेख छ ।

साथै दुई संस्थाले अध्ययनरत विद्यार्थीको व्यक्तित्व विकास, अध्यापनरत शिक्षकहरूको सीप अभिवृद्धि तथा समग्र शैक्षिक गुणस्तर अभिवृद्धि हुने शैक्षिक कार्यक्रम सञ्चालन गर्न सहकार्य गर्दै जाने सम्झौता गरेका छन् । त्यस्तै भक्तपुरका विद्यार्थीलाई भक्तपुरमा नै कक्षा ११ र १२ पढ्ने वातावरण बनाउन निर्माण गर्न तथा उच्च शिक्षा अध्ययनका लागि संयुक्त रूपमा कार्यक्रम गर्दै जाने पनि सहमति भएको छ । रासस


ताजा खबर