मोबाइलको लतले बालबालिकाको विकासमा असर पुग्छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मस्तिष्कको अधिकतम विकास हुने उमेरका बालबालिकालाई मोबाइलको लतबाट जोगाउन आग्रह गरेको छ।

मोबाइलको अधिक प्रयोगले बालबालिकाको सर्वाङ्गीण विकासमा असर पुग्ने भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो। मोबाइल धेरै चलाउँदा बालबालिका ढिलो निदाउने, निद्रा पातलो हुने र निद्राबाट पटक पटक ब्युँझने गरेको मन्त्रालयले जनाएको छ।

“मोबाइलमा लत लागेका बालबालिकामा एकोहोरो हुने लक्षण देखिंदै जान सक्छ। रिसाउने, झर्किने, रुने, दोहोरो कुरा नगर्ने हुन सक्‍छन्,” मन्त्रालयले भनेको छ, “बच्चा ठूलो हुँदै जाँदा झन् खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो छिटो निल्ने पनि हुन सक्छन्।”

सुत्नुअघि प्रयोग गर्दा मोबाइलको उज्यालोले निद्रा लाग्ने हर्मोन उत्पादनमा समेत असर पर्ने मन्त्रालयले जनाएको छ। त्यस्तै, मोबाइल देखाएर खाना खुवाउँदा बालबालिकामा पोषण र पाचन सम्बन्धी समस्या हुन्छ।

बालबालिकामा मोबाइलको लत लाग्नुमा अभिभावक नै प्रमुख जिम्मेवार रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अभिभावकले अत्यधिक मोबाइल प्रयोग गर्दा बालबालिकाले पनि देखासिकी गर्ने र लत लाग्ने गर्छ।


ताजा खबर