कोशी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन

कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई विस्थापित गर्दै नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । गठबन्धनको दाबी अनुसार प्रदेश प्रमुख पर्शुराम खापुङ्ले कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । अब नवनियुक्त मुख्यमन्त्री थापाले प्रदेशसभामा एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ । कोशी प्रदेशमा नेपाली कंग्रेसबाट पहिलो पटक मुख्य मन्त्री बनेका हुन् । यसअघिका चारै जना मुख्यमन्त्री कम्युनिष्ट पार्टीका थिए । तत्कालिन मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको बाटो खुलेको थियो ।

कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्य मुख्यमन्त्री बन्ने व्यवस्था अनुसार कंग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले नयाँ सरकारका लागि दावी गरेका थिए । ९३ सदस्यीय प्रदेशसभामा कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको एक सांसदसहित ४७ सांसदको समर्थन भएको बताएका छन् । नवनियुक्त मुख्यमन्त्री थापाले विश्वासको मतका लागि थप समर्थन जुटाउने प्रयास जारी राख्ने बताउनुभयो । उहाँले भन्नुभयो– “विश्वासको मतका लागि राप्रपालाई सरकारमा सहभागी गराएर समर्थन जुटाउने प्रयास जारी रहन्छ, तर राप्रपाको समर्थन प्राप्त नभएको अवस्थामा सभामुखको निर्णायक मतले पनि विश्वासको मत प्राप्त गर्नेछौं ।”

गठबन्धन दलले प्रदेशका सभामुख बाबुराम गौतमको समेत नाम राखेर बहुमतको दावी गरेका हुन् । यता, एमाले र राप्रपाले भने सरकार गठनका लागि बहुमत सिद्ध गर्न गठबन्धन दलले सभामुख बाबुराम गौतमको नाम राखेको भन्दै आपत्ति जनाएका छन् । एमालेका प्रदेश सांसद लिलाबल्लभ अधिकारीले सरकार गठनका दावी पेस गर्न सभामुख गौतमलाई माओवादी केन्द्रको सांसदमा गन्ती गरेर सभामुखको तटस्थता भंग गराएको दावी गर्नुभयो ।


ताजा खबर