रेडियो कान्तिपुर ‘नेसनल म्युजिक अवार्ड’-२०७९ सम्पन्न

रेडियो कान्तिपुरको २४ औँ वार्षिक उत्सवका अवसरमा पाँचौँ नेसनल म्युजिक अवार्ड-२०७९ का विजेता कलाकारहरू सम्मानित भएका छन् ।

रेडियो कान्तिपुरको २४ औँ वार्षिक उत्सवका अवसरमा आज एक कार्यक्रम गरी उत्कृष्ट स्रष्टाहरुलाई अवार्डसहित सम्मान गरिएको हो । गीत-संगीतका साधक यादव खरेललाई एक लाख नगदसहित लाइफ टाइम अचिभमेन्ट अवार्डले सम्मान गरिएको छ ।

त्यसैगरी विभिन्न गीत संगीतका १५ विधामा छनोट भई विजेता बनेका नव गायक, रचनाकार, संगीत निर्देशक, उत्कृष्ट लोकदोहोरी गायक सम्मानित भए ।

साथै, उत्कृष्ट राष्ट्रिय गीतसहित उत्कृष्ट साङ्गीतिक समूहसमेत सम्मानित भएका छन् । कार्यक्रममा अवार्ड वितरण गर्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले गीत संगीतको क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टाहरुको समानका लागि कान्तिपुर मिडिया ग्रुपले नेसनल म्युजिक अवार्ड कार्यक्रम आयोजना गर्दै आएको बताए ।

कार्यक्रममा उत्कृष्ट नवगायकतर्फ गायक सुरज पण्डित सम्मानित भएका छन् । उत्कृष्ट रचनाकारमा हर्क साउद छनोट भए भने संगीत निर्देशक विधामा हरि लम्साल छानिए ।

त्यसैगरी लोकदोहोरी गायनतर्फ प्रकाश सपुत र गायिका सम्झना भण्डारी सम्मानित भए । उत्कृष्ट राष्ट्रिय गीतविधातर्फ शान्तिराम भट्टराई सम्मानित भए भने उत्कृष्ट आधुनिक गीततर्फ गायक राज सिग्देल र गायिका रचना रिमाल सम्मानित भए ।त्यसैगरी उत्कृष्ट साङ्गीतिक समूहतर्फ अनुप्रस्थ ब्यान्ड छनोट भएको छ । युगल गायनतर्फ अस्मिता अधिकारी र महेश काफ्ने विजेता बनेका छन् ।

विभिन्न गीत संगीतका १५ विद्यामा ७५ जना स्रष्टा तथा कलाकारहरू छनोटमा परेका थिए ।

त्यसमा उत्कृष्ट ठहरिएका १५ जना कलाकार र एकजना लाइफ टाइम अचिभमेन्ट विजेता गरी १६ जना स्रष्टा तथा कलाकार रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्डबाट सम्मानित भएका छन् । कार्यक्रममा विभिन्न कलाकारहरुले सांगितक प्रस्तुति दिएका थिए ।

पुरा कार्यक्रमको भिढियोः

भिडियो सौजन्यः कान्तिपुर मिडिया ग्रुप


ताजा खबर