एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपाललाई

शीर्ष क्रमका ब्याटर नरेन भट्टको उत्कृष्ट शतकको सहयोगमा नेपालले मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कपको फाइनल खेलमा घरेलु टोलीलाई फराकिलो अन्तरले पराजित गरेर उपाधि जितेको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले २ सय २१ रनको सानदार जित दर्ता गरेको हो । नेपालले दिएको २ सय ५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४ दशमलब ५ ओभरमा ३१ रन बनाउँदै अलआउट भयो ।

मलेसियाका लागि मुहम्मद अक्रमले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा समेत रन बनाउन सकेनन् ।

नेपालका लागि कप्तान अभिषेक तिवारीले ५ विकेट लिए । सन्तोष यादवले ३ तथा अशोक धामी र सन्तोष गैरेले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो । नेपालका लागि नरेन भट्टले ८९ बलमा १० चौका र २ छक्काको सहयोगमा अविजित १ सय १२ रनको शतकीय ईनिङ खेले ।

पहिलो विकेटका लागि ओपनर द्वय निरज यादव र सुर्यांशु कोइरालाले ४१ रनको साझेदारीका साथ राम्रो सुरुआत दिलाएका थिए । यादवले ४७ रन बनाए । कोइरालाले १८ रन बनाए ।

दोस्रो विकेटका लागि नरेन भट्ट र निरजले ५५ रनको महत्त्वपूर्ण साझेदारी गरे । तेस्रो र चौथो विकेटका लागि उल्लेखनीय साझेदारी हुन सकेन । पाँचौँ विकेटका लागि सन्तोष यादव र नरेन भट्टले १ सय ३ रनको शतकीय साझेदारी गर्दै टोलीलाई बलियो योगफल सम्म पुर्‍याए । सन्तोष यादवले २६ रनको योगदान गरे । अशोक धामीले १२ रन बनाए ।

मलेसियाका लागि मुहम्मद अक्रमले ३ तथा अरेन अकील र मुहम्मद फदुलले समान १/१ विकेट लिए ।

नेपाल लगातार तेस्रो संस्करणमा च्याम्पियन भएको हो । यसअघि नेपालले २०१७ र २०१९ मा यू–१६ को उपाधि जितेको थियो ।

यसअघिको संस्करण भने यू–१६ रिजनको नामले भएको थियो । यस संस्करणमा नेपाल अपराजित रुपमा च्याम्पियन भएको हो । रासस


ताजा खबर