पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब कतिमा पाइन्छ ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले सोमवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । पेट्रोल तथा डिजेल-मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गको लागि क्रमशः ७.५ , ६ र ५ रुपैयाँले मूल्य घटाएको निगमले जनाएको छ ।

सोमवार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ मूल्य र तराईको हकमा प्रतिलिटर ७ रुपैयाँ ५० पैसा घटाएको छ भने सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटाउने निर्णय गरेको हो ।

अब काठमाडौं‚ पोखरा र दीपालयमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५०/१५० रुपैयाँ पर्नेछ । त्यस्तै तराईमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६७.५ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४७.५/१४७.५ रुपैयाँ पर्नेछ ।

सुर्खेतको र दाङमा भने पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६९ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४९/१४९ रुपैयाँ पर्नेछ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखेको छ ।

साथै आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १४ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १५ रुपैयाँले घटाइएको छ ।


ताजा खबर